
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले दुग्ध विकास बोर्डले गरेको कामप्रति सरकार सन्तुष्ट नभएकाले खारेज गर्न लागेको बताउनुभएको छ ।
आइतबार ललितपुरमा भएको डेरी दर्पण विमोचन कार्यक्रममा बोल्दै कृषिमन्त्री डा. भुसालले यस्तो बताउनुभएको हो । उहाँले सरकारले जुन उदेश्य लिएर बोर्डको स्थापना गरेको थियो बोर्डले त्यो उदेश्य अनुसार काम गर्न नसकेको बताउनुभयो ।
मन्त्री भुसालले दुग्ध विकास बोर्ड दुधको विकास र अनुसन्धान तथा समन्वय गर्ने भनेर स्थापना भए पनि त्यस्तो काम गर्न नसकेको बताउनुभयो । उहाँले बोर्डको काममा सरकार सन्तुष्ट नभएर र खर्च कटौती पुनरावलोकन आयोगको सिफारिसको आधारमा खारेजको सूचीका परेको बताउनुभयो ।
मन्त्री भुसालले सरकार दुध विकासको पक्षमा रहेको भन्दै दुग्ध विकास बोर्ड खारेज भए पनि अन्य संरचनाबाट भए पनि काम गर्ने बताउनुभयो । उहाँले दुग्ध विकास बोर्ड खारेज गरेर सरकार दुध विकासबाट हात झिक्न नखोजेको भन्दै पहिलाको भन्दा अझ बढी विकास गर्ने पक्षमा रहेको बताउनुभयो । मन्त्री भुसालले सरकारले दुध विकास गर्नको लागि भारतबाट मुर्रा राँगा ल्याउन लागेको बताउनुभयो । उहाँले सरकारले नसल सुधार गरी दुधको विकास गर्ने तर्फ प्रतिवद्ध रहेको बताउनुभयो ।
मन्त्री भुसालले बोर्ड खारेज हुँदैमा डेरी व्यवसायीहरु आतिहाल्नु पर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले सरकारले दुग्ध विकास गर्न कै लागि बोर्डको पुनःसंरचना गर्न खोजेको बताउनुभयो । उहाँले बोर्ड खारेज गर्ने विषय मन्त्रालयबाट गएको प्रस्ताव नभएको पनि बताउनुभयो ।
कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले सरकारले दुग्ध विकास बोर्ड खारेज गर्ने प्रस्ताव फिर्ता लिनुपर्ने बताउनु भयो। उहाँले जिडिपीमा ८ प्रतिशत योगदान दिने क्षेत्रको बोर्डलाई खारेज गर्न नहुने बताउनुभयो । उहाँले दुग्ध विकास बोर्डलाई सुधार गरेर शसस्त बनाउनु पर्नेमा खारेज गर्ने सूचिमा राख्नु उचित नभएको बताउनुभयो ।
उपाध्यक्ष ढकालले सरकारले बजेट संशोधन गरेर बोर्ड खारेज गर्ने विषय फिर्ता लिनुपर्ने बताउनुभयो । उहाँले नेपालमा सिजन नभएको बेलामा ३० प्रतिशत पाउडर दुध र चिज बाहिरबाट आयात गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
उपाध्यक्ष ढकालले केही उद्योगहरुले लभिङ गरेर बाहिरबाट पाउडर दुध र चिज ल्याउन रोक लगाएको भन्दै त्यसको कारण दुधको मूल्य बढेको बताउनुभयो । उहाँले सरकारले कोटा सिस्टममा भएपनि पाउडर दुध र चिज आयात गर्न खुला गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्