९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


धरानको बजेट १ अर्ब ७१ करोड


182
Shares

धरान । धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/ ८१ को लागि १ अर्ब ७१ करोड बजेट ल्याएको छ।

आइतबार सुरु भएको नगर सभामा उपप्रमुख अइन्द्रबिक्रम बेघाले कुल १ अर्ब ७१ करोड बराबरको बजेट पेश गरेका हुन्।

दिउँसो १ बजे नगर सभा भनिए पनि कार्यपालिका बैठकबाट नीति तथा कार्यक्रम र बजेटबारे सहमति जुट्न ढिलाई हुँदा साँझ ५ बजेतिर मात्र नगर सभा सुरु भएको थियो।

उक्त बजेटले पहिलो प्राथमिकतामा खानेपानीलाई राखेको छ भने दोस्रोमा पूर्वाधार विकास, तेस्रोमा पर्यटन, चौथोमा कृषि, पाँचौंमा शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास र छैटौँ प्राथमिकतामा विपद व्यवस्थापनलाई राखेको छ।

वडागत बजेटतर्फ २० वटै वडाको प्रशासनिक, कार्यक्रम तथा पुँजीगत तर्फ आन्तरिक स्रोतबाट कुल २१ करोड विनियोजन गरिएको छ भने शहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ सशर्त अनुदानतर्फ ७ करोड ४ लाखसमेत कुल ४३ करोड ५१ लाख १५ हजार विनियोजन गरिएको छ।

शिक्षा, युवा तथा खेलकुदतर्फ कुल ४७ करोड १३ लाख विनियोजन गरिएको छ। त्यसमध्ये सशर्त अनुदान ४५ करोड ७३ लाख रहेको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।