
काठमाडौं । सांसदहरुले देशका विभिन्न समस्या र क्षेत्रगत बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभा सदस्य दीपक गिरीले चट्याङबाट मृतक हुनेको परिवारलाई दश लाख रुपैयाँ क्षतिपूर्ति दिन माग गर्नुभयो । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै गिरीले चट्याङबाट मृत्यु हुनेको परिवारलाई दश लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभएको हो । उहाँले हाल जिल्ला प्रशासन कार्यालयमार्फत दुई लाख रुपैयाँ दिने गरिएको भन्दै सो रकम नाम मात्रैको भएको बताउनु भयो । उहाँले आफ्नो गृहजिल्ला दाङमा केहीदिन अघि चट्याङबाट ३६ वर्षीय रामनारायण चौधरी र २६ वर्षीय समिर केसीको मृत्यु भएको भन्दै उनीहरुको परिवारलाई तुरुन्त राहत रकम उपलब्ध गराउन माग गर्नुभयो ।
त्यसैगरी प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सप्तरीमा बबिता ईश्वर र मनोज रामले कानूनी विवाह गरेको भएपनि केटीको उमेर घटाएर नक्कली जन्मदर्ता बनाइ केटालाई थुनिएको भन्दै दोषी उपर कारबाही गर्न माग गर्नुभयो । उहाँले वडा अध्यक्षले फर्जि जन्मदर्ता बनाएकाले वडा अध्यक्षलाई समेत कारबाही गर्नुपर्ने बताउनु भयो ।
सांसद सन्तोष परियारले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयमार्फत राख्ने सरकारको निर्णय खारेज गर्न माग गर्नुभयो । उहाँले सरकारले गरेको यस निर्णयले लोकतन्त्र र जनताको मताधिकारलाई अप्ठ्यारो पार्ने बताउनु भयो ।
यस्तै सांसद धनबहादुर बुढाले डोल्पा जिल्लाको सेफोक्सुण्डो गाउँपालिका वडा नम्बर ३ र ४ मा रहेका दुईवटा गुम्बामा हतियारधारी समूहले गरगहना, नगद, मुर्ति र बहुमूल्य सामानहरु लुटेको भन्दै लुटेराहरुलाई नियन्त्रणमा लिइ कानूनी कारबाही गर्न माग गर्नुभयो ।
सांसद अब्दुल खानले प्रादेशिक पहिचानसहितको नेपाली नागरिकता दिन माग गर्नुभयो । देश संघीय संरचनामा भएको उल्लेख गर्दै उहाँले प्रादेशिक पहिचानबिनाको नागरिकता अधुरो हुने बताउनु भयो ।
उहाँले जन्मसिद्ध नागरिकको सन्तानले नागरिकता प्राप्त गर्न माग गर्ने कागजपत्र धेरै र झन्झटिलो भएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । कागजपत्रको झन्झटले गरिब र निरक्षर नागरिक नागरिकताबाट विमुख हुनुपर्ने अवस्था रहेको उहाँले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्