
एजेन्सी । श्रीलंकामा आगामी बिहीबारदेखि पाँच दिनका लागि वित्तीय बजार बन्द हुने भएको छ ।
श्रीलंका सरकारले ५१ अर्ब अमेरिकी डलरभन्दा बढीको आन्तरिक ऋणको पुनर्संरचना गर्ने विवादास्पद कदम चाल्नु अघि बित्तीय बजार बन्द गर्ने घोषणा गरेको हो । सरकारले आर्थिक संकट घोषणा गर्दै आफ्नो विदेशी ऋणको लागि सम्झौता गरेको कानुनी दायित्व पुरा गर्न नसकेपछि चौतर्फी आलोचना भएको थियो । गत मार्चमा सहमति भएको अन्तर्राष्ट्रिय मुद्रा कोषको ‘बेलआउट प्याकेज’ अनुरूप पुनर्संरचनाले सरकारी ऋणपत्रलाई असर गरेपछि त्यहाँको सरकार थप अप्ठेरोमा परेको छ । ऋण पुनर्संरचना योजनालाई अनुमोदन गर्न यसै हप्ताको अन्त्यमा विधायिकाको विशेष अधिवेशन बोलाउने विषयमा छलफल गर्न भोलि सांसदहरूको बैठक आव्हान गरिएको छ ।
चार वर्षे २.९ अर्ब अमेरिकी डलरको आईएमएफ उद्धार प्याकेजलाई निरन्तरता दिन सरकारले आफ्ना विदेशी ऋणदाताहरूसँग बाह्य ऋणको पुनर्संरचनाका लागि वार्ता भने जारी नै राखेको छ ।
श्रीलंका सरकारलाई हाल कुल वैदेशिक ऋणको १४ अर्ब डलर बढी विदेशी सरकारको द्विपक्षीय ऋण छ भने यसको ५२ प्रतिशत चीनलाई तिर्नुपर्ने भएको छ । आईएमएफको सर्तअनुसार सरकारले आफ्नो खातालाई सन्तुलित बनाउन र टापु राष्ट्रको सबैभन्दा खराब आर्थिक संकटबाट बाहिर निस्कन आन्तरिक र विदेशी ऋण सेवालाई आधा बढी घटाउनुपर्ने बाध्यता छ ।
प्रतिक्रिया दिनुहोस्