
काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेको लोकप्रियतासँग डराएर सत्तापक्षले नागरिकमाथि भ्रम छरिरहेको बताउनुभएको छ ।
सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।
सांसद बर्तौलाले पशुपतिमा राखिएको सुनको जलहरीमा अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही हुनपर्ने र एमाले भ्रष्टाचारी जोगाउने पक्षमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले पशुपतिमा सुनको जलहरीको जाँच गर्न अतियार दुरुपयोग अनुसन्धान आयोग जानु/नजानु भन्नेकुरा एमालेको सरोकारको विषय नभएको र सरकारले आफ्नो ढंगले काम गर्न पाउने बताउनुभयो ।
सांसद बर्तौलाले नेकपा एमालेलाई बदनाम गराउन जनताको आँखामा छारो हाल्ने काम भइरहेको भन्दै एमाले नेताहरु जोडिएका घटनाहरु कुनै भए सबै घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्नुभयो । उहाँले अख्तियारको पूर्ण रिपोर्ट नआइसकेको भन्दै जलहरीमा पूर्वराट्रपति, पूर्वप्रधानमन्त्रीको नाम रहेको भन्नेकुरा सामान्य विषय भएको बताउनुभयो । सांसद बर्तौलाले नेतृत्व लिएको हिसावले नाम आएपनि ठूलो विषय नरहेको र उद्घाटन गरिएका ठाउँमा नेतृत्वको नाम आउनु स्वभाविक भएको बताउनुभयो ।
सचेतक बर्तौलाले देशको नेतृत्व गरिसकेको मानिसको नाम उद्घाटन गरिएको ठाउँमा लेखियो भनेर बस्नु तर्क गर्ने अर्को ठाउँ नपाउनु भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्