
काठमाडौं । ललिता निवास प्रकरणमा मंगलवार पक्राउ परेका तीन अभियुक्त अदालत पुगेका छन् ।
मिनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतम सर्वोच्च अदालत पुगेर बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका हुन् । प्रहरीले गैरकानुनी रुपमा आफूहरुलाई हिरासतमा राखेको भन्दै तीनैजना अदालत पुगेका हुन् । उनीहरुले बुधवार नै रिट दिए पनि बिहिवार सार्वजनिक बिदा भएकाले सुनुवाई हुन सकेन । शुक्रवार मात्र उनीहरुको निवेदनको सुनुवाई हुनेछ ।
उनीहरुले हदम्याद नाघेको विषयमा पक्राउ गरेको भन्दै रिट निवेदन दिएका हुन् । ललिता निवास प्रकरणमा निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, गोपाल कार्कीलगायत सात जनालाइ प्रहरीले पक्राउ गरेको थियो । जसमा कलाधर देउजा, हुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपालीलाई प्रहरीले रिहा गरिसकेको छ । अदालतबाट ‘स्टे अर्डर’ लिएको आधारमा उनीहरु छुटेका हुन्। पक्राउ परेका कार्कीबाहेक अन्य तीन जना अस्पताल भर्ना भएका थिए ।
उनीहरु विरुद्ध प्रहरीले बुधवार जिल्ला अदालतबाट सात दिन हिरासत राख्ने अनुमति पाएको थियो । ललिता निवास प्रकरणमा प्रहरीले ४ सय ६ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ।
प्रतिक्रिया दिनुहोस्