
एजेन्सी । पश्चिमी केन्याको लन्डियानीमा भएको सडक दुर्घटना परी ४८ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएका छन् ।
व्यस्त जक्सनमा एउटा लरीले नियन्त्रण गुमाएर अन्य सवारी साधन र पैदल यात्रुलाई ठक्कर उक्त दुर्घटना भएको हो । दुर्धटनामा परी घाइते भएकालाई अस्पताल भर्ना गरिएको छ । स्थानीय प्रहरीले दिएको जानकारी अनुसार केरिचो र नाकुरु शहरबीचको राजमार्गमा भएको दुर्घटनामा अझै केहि व्यक्ति लरीमुनि फसेको आशंका छ ।
अनियन्त्रित लरीले अन्य ६ भन्दाबढी सवारी साधनलाई ठक्कर दिएको थियो । यससँगै धेरै पैदल यात्रुलाई पनि कुल्चेको थियो । मृत्यु हुनेमा धेरै युवा तथा व्यवसायी रहेको जनाइएको छ । भारी वर्षाका कारण उद्धार कार्यमा बाधा पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
केन्याका राष्ट्रपति विलियम रुटोले दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । यो दुर्घटना केन्याको इतिहासमा सबैभन्दा खराब सडक दुर्घटना मध्ये एक रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गत वर्षको सुरुमा मध्य केन्यामा एउटा बस पुलबाट नदीमा खस्दा ३४ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्