
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा अवरुद्ध सडक भर्खरै खुलेको छ ।
सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तीन किलोमा शनिबार बिहान करिब ३ बजे पहिरो खस्दा सडक पुनः अबरुद्ध भएको थियो ।
सोही स्थानमा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएसँगै रोकिएका सवारी भर्खरै गन्तव्यतर्फ पठाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । पूर्व र पश्चिमबाट काठमाडौं जोड्ने मुख्य मार्ग भएकाले मुग्लिन–नारायणगढ सडक खण्डलाई ‘लाइफलाइन’ नै मानिन्छ । बर्खालागेसँगै पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौै ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।
सडक अवरुद्ध भएपछि दर्जनौं सवारी साधन बिच बाटोमा अलपत्र परेका थिए ।
प्रतिक्रिया दिनुहोस्