२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ललितपुर जिल्ला अदालतका कर्मचारीहरु काम छोडेर सर्वोच्च अदालत पुगे


3.9k
Shares

काठमाडौं । कार्यस्थलमा असुरक्षा भएको भन्दै ललितपुर जिल्ला अदालतका कर्मचारीहरु सर्वोच्च अदालत पुगेका छन् ।

ललितपुर जिल्ला अदालतका श्रेष्तेदार विष्णुप्रसाद पाण्डेलगायत अदालतका कर्मचारीहरु कानुन व्यवसायीबाट असुरक्षित भएको भन्दै कार्यस्थल छाडेर सुरक्षा माग गर्दै सर्वोच्च पुगेका हुन् । सेवाग्राहीलाई सेवा दिने समयमा सम्पूर्ण कर्मचारी सर्वोच्च गएसँगै जिल्ला अदालतको काम कारवाही प्रभावित भएको छ । कर्मचारीहरू कार्यालयमा उपस्थित नभएपछि ललितपुर जिल्ला अदालतमा पेसी व्यवस्थापन लगायतको काम हुन सकेको छैन ।

कर्मचारीहरू कामकाज छाडेर हिँडेपछि सर्वोच्च अदालत प्रशासनले कर्मचारीसँग छलफल गरी काममा फर्किन आग्रह गरेको छ । तर कर्मचारीहरूले भने आफूहरूको जीउ धनको सुरक्षाको ग्यारेन्टी नभएसम्म काममा नफर्कने अडान लिएका छन् । सोमबार नेपाल बार एशोसिएसनको केन्द्रीय कार्यसमिति कै आयोजनामा ललितपुर जिल्ला अदालत बाहिर भएको आमसभामा कानुन व्यवसायीले कर्मचारीको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको र बारले आफ्नो क्षेत्राधिकार र सीमा मिचेर कुनै अमुक कर्मचारी सरुवा गर भन्नु कानुन विपरीत भन्दै कर्मचारीले आपत्ती जनाएका छन् ।

यही असार १३ गते जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङ र कानून व्यवसायी अमिर लामिछानेबीचको कुटपीट घटनामा अदालत कर्मचारी, ट्रेड युनियन र कानूनव्यवसायीहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् । यहि बिषय अहिले चर्किदैं गएको हो ।