
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश विपद् जोखिममा रहेको र त्यसमध्ये मौसमजन्य जोखिमको अवस्था अत्यधिक रहेको बताउनुभएको छ ।
मोरङमा जलवायु प्रेरित प्रकोप जोखिममा सामुदायिक लचिलोपन सुदृढीकरण परियोजना (किकअफ) सुरु भएको जानकारी गराउन विराटनगरमा आयोजित कार्यक्रममा उहाँले सिमित स्रोत साधनको बाबजुद विपद्को क्षेत्रमा धेरै काम भएको उल्लेख गर्नुभयो । मुख्यमन्त्री कार्कीले बर्षातको समयमा झनै विपद् र जोखिम अत्याधिक हुने गरेको भन्दै परिपयोजनाले सरकारलाई सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कोशी प्रदेशले विपद् जोखिमको नितिमा धेरै कुरा समेटेको मुख्यमन्त्री कार्कीले भनाई थियो । प्राविधिक जनशक्ति नभएका कारण पूर्वतयारी गर्न बजेटको अभाव रहेको अवस्थामा नयाँ कार्यक्रम पक्कै पनि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । सिमित स्रोत साधनका बाबजुद् जति विपद व्यवस्थापनको क्षेत्रमा काम गरे पनि त्यो पर्याप्त नभएको उहाँको भनाई थियो ।
विकास निर्माणका काम गर्दा पछि हुने क्षतिका बारेमा नसोचेका कारण पनि मौसमजन्य विपद्मा धेरै दुःख खेप्नुपरेको मुख्य मन्त्री कार्कीको भनाई थियो । मोरङ क्षेत्र नम्बर १ (क) प्रदेश सासंद उमाकान्त गौतम, जिल्ला समन्वय समिति मोरङ्गका प्रमुख अजम्बर राई, प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादव लगायतले नेपाल ग्रामीण पुनर्निर्माण संस्थाले सञ्चालन गरेको परियोजना उदाहरणीय बन्नेमा विश्वस्त रहेको बताउनुभएको थियो ।
नेपाल ग्रामिण पुनर्निर्माण संस्था (आरआरएन) का अध्यक्ष तथा पूर्व अमेरिकाका राजदुत डा.अर्जुन कार्कीले स्थानीय सरकार सँधै जनता नजिक हुने भएकाले आफूहरुले स्थानीय सरकारसँग मिलेर काम गर्ने गरेको जानकारी दिनुभयो । उहाँले सामाजिक संस्थाहरु अघि बढेर नभई सरकारलाई अगाडि राखेर काम गरी रहेको पनि बताउनुभयो । उहाँले आरआरएनले मोरङमा ३४ वटा परियोजनामा सहजीकरण गरेको बताउँदै मोरङ्गमा शिक्षा, जिविकोपार्जन, खाद्य सुरक्षा, सामाजिक सुशासन, शसक्तिकरण लगायतका ९ वटा परियोजनामा सहजीकरण गरेको र जिल्लामा विपद्का लागि स्टक भण्डारण पनि राखिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्