२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


माओवादी केन्द्रले भन्यो – प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोजियो


182
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल लेसरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दलबाट गरिएको भ्रामक, आपत्तिजनक, प्रचारवाजीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

पार्टी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बिहीबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोज्नु प्रमुख प्रतिपक्षको गलत चाहना पूरा गर्ने अभिष्टताबाहेक केही नभएको बताउनुभएको छ ।

सरदार प्रितम सिंह र प्रधानमन्त्री दाहालका बीचमा औपचारिक मात्र होइन भावनात्मकरुपमा समेत प्रगाढ सम्बन्ध रहँदै आएको तथ्य सार्वजनिक भइसकेको उपाध्यक्ष महराले स्पष्ट पार्नुभयो ।

सोही पृष्ठभूमिमा सरदार सिंहबाट आफूलाई प्रधानमन्त्रीका रुपमा देख्न चाहेको र त्यसको लागि उनले सक्दो योगदान गरेको यथार्थता प्रकट गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘मध्यरातमा ‘रअ’ प्रमुखसँग बालुवाटारमा भेटेर पटकपटक संसद् विघटन गर्ने, जनताका मुद्दामा कानुन बनाउन खोज्दा संसद् अवरोध गर्ने, भ्रष्टाचारीको छानविन र फाइल खोल्दा गैरजिम्मेवार बन्ने जस्ता पात्र र प्रवृत्तिले गर्दा प्राप्त राजनीतिक उपलब्धिमाथि प्रहार भइरहेको तथ्य नेपाली जनताले बुझिसकेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘पानी धमिल्याएर माछा मार्न खोज्ने’ प्रवृत्ति फेरि पनि ‘के निउ पाऊँ, कनिका बुकाऊँ’ भने जस्तै भ्रामक र दुराशययुक्त प्रचारबाजीमा उत्रिएर गरिएका हर्कतप्रति माओवादीले भत्र्सना गरेको छ ।

राष्ट्रियता, गणतन्त्र र जनजीविकाका पक्षमा दृढतापूर्वक उभिन पार्टीपङ्क्ति र जनसमुदायमा प्रवक्ता महराले आग्रह गर्नुभएको छ ।