
परासी । नवलपरासीमा यस वर्ष आउन सक्ने बाढीलाई मध्यनजर गर्दै पूर्वतयारी थालिएको छ ।
हरेक वर्ष आउने बाढीले जिल्लामा ठूलो जनधनको क्षति पुर्याउँदै आएको छ । त्यसैलाई मध्यनजर गर्दै नेपाली सेनाको परासीस्थित गोरख दल गण परासीले पाँच दिने हातेमालो कार्यक्रमको आयोजना गरी पूर्वअभ्यास गरेको हो ।
पूर्व अभ्यासमा बाढी आई सकेपछि अपनाइनु पर्ने सावधानी, डुबानमा परेका व्यक्तिहरुको उद्दार, उपचारलगायतका विषयमा पूर्वअभ्यास गरिएको गणका प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले जानकारी गराउनुभयो ।
पूर्वअभ्यासमा बाढी आइसकेपछि पौडिनका लागि आवश्यक पर्ने सामग्री नभएपनि घरेलु सामग्रीलाई समेत प्रयोग गर्न सकिने विधिका बारे जानकारी दिइएको थियो । पूर्वअभ्यासमा साँच्चै नै बाढी आएको भान हुने गरी प्रदर्शन गरिएको थियो ।
प्रदर्शनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो । त्यसैगरी प्रदर्शन स्थलमा एम्बुलेन्स, दमकललगायत स्वास्थ्य संस्था स्थापना गरेर पूर्वअभ्यास गरिएको थियो ।
यस वर्ष आउन सक्ने बाढीबाट नवलपरासी जिल्लाका करिब ७ सय बढी घरधुरी प्रभावित हुने र करिब २८ सय बिगाहा खेतीयोग्य जमिन डुबानको जोखिममा पर्ने अनुमान गरिएको छ ।






प्रतिक्रिया दिनुहोस्