
काठमाडौं । राष्ट्रिय सभाको आज बस्ने भनिएको बैठक स्थगित गरिएको छ ।
आज सोमबार बिहान ११ बजेर १ मिनेटमा बस्नेगरी बैठक बोलाइएको थियो । तर संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै आज बस्ने भनिएको बैठक बिशेष कारणबस सरेको जानकारी दिनु भएको छ ।
सूचनामा आज बस्ने भनिएको बैठक बिशेष कारणले बस्न नसक्ने भन्दै अर्काे बैठक असार २६ गते बिहान ११ बजेर १ मिनेटमा बस्ने उल्लेख गर्नुभएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले गत हप्ता दिनुभएको एक अभिव्क्तिलाई लिएर गत बुधबारदेखि संघीय संसदका दुबै सदनको बैठक अवरुद्ध गर्दे आएको छ । गत हप्ता सोमबार प्रधानमन्त्री दाहालले भारतीय नागरिक प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिनुभएको थियो । यो भनाइलाई लिएर नेकपा एमालेले प्रधानमन्त्री दाहालको राजीनामा मागेर गत बुधबारदेखि राष्ट्रिय र प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आइरहेको थियो ।
तर हिजो आइतबार शुरुमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच संसद्को अवरोध हटाउने विषयमा समझदारी बनेको थियो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संसद्को अवरोध हटाउने विषयमा समझदारी बनेको थियो । तर पछि प्रधानमन्त्री दाहालको सचिवालयले असार २१ गते जारी गरेको बिज्ञप्तिमा एमालेले प्रश्न उठाएपछि संसदको अवरोध हट्ने बिषयमा अन्योल भएको छ ।
प्रतिक्रिया दिनुहोस्