१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति भावनामा आएर दिएँ : प्रधानमन्त्री दाहाल


572
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरदार प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति भावनामा आएर दिएको बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्लीमा कुरा गरेको भन्ने अभिव्यक्ति भावनामा आएर दिएको बताउनुभएको हो । उहाँले आफ्नो छोरी ज्ञानु दाहाल बिरामी हुँदा दिल्लीमा प्रितम सिंहको घरमा बसेर उपचार गराएको र छोरी भेट्न आफू जाँदा सिंहले आफुलाई प्रधानमन्त्री बनेको देख्न चाहाने शुभेच्छा राखेको कुरा मात्र आफूले केही दिन अघिको सार्वजनिक कार्यक्रममा राखेको स्पष्ट पार्नुभयो ।

भावनात्मक र पारिवारिक वातावरणमा भएको सो कुरालाई मात्र आफूले पुस्तक विमोचन कार्यक्रममा राखेको उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले आफूले सो कुरा नभनेको भएपनि हुने भन्दै आत्मआलोचना समेत गर्नुभयो । उहाँले आफ्नो भावनात्मक अभिव्यक्ति राष्ट्रप्रति नै घात हुने खालको नभएको बताउनुभयो । प्रधानमन्त्री दाहालले सो कुरा प्रधानमन्त्रीको हैसियतमा नबोलेको भएपनि हुने कुरा आफूले स्वीकार गरेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले प्रितम सिंह आफुलाई प्रधानमन्त्री बनाउन सक्ने हैसियतका कुनै शक्ति केन्द्र नभएको बताउनुभयो । उहाँले आफ्नो कमजोरी नै सार्वजनिक र निजी कार्यक्रमहरुमा फरक रुपमा प्रश्तुत हुन नसक्ने रहेको भन्दै आफु मनले बोल्ने गरेको पनि बताउनुभयो । उहाँले आफ्नो भावुकता ठिक नभएको निस्कर्षमा पुगेको पनि उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले आफ्नो स्वभावजन्य भावुकताको लागि सदन समक्ष आत्मसमिक्षा गरेको बताउनुभयो । उहाँले अभिव्यक्ति दिँदा आगामी दिनमा शतर्क रहने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले दलहरुले आफुलाई प्रधानमन्त्री कसले बनाउने भनेर प्रश्न गरेर राष्ट्रपतिलाई आफैँले लेखेको पत्रको अवहेलना गरेको बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग समिति सभापति चयनको सम्बन्धमा र अन्य विधेयकहरु पारित गर्ने सम्बन्धमा निरन्तर छलफल भइरहेको भन्दै भेटघाट भ्रष्टाचारको मुद्दामा लेनदेन गर्नका लागि नभएको स्पष्ट पार्नुभयो । ओलीसँगको भेटघाट भ्रष्टाचारको मुद्दामा लेनदेन गर्नका लागि हो भनि कपोकल्पित कुरा बाहिर आएकोप्रति उहाँले खण्डन गर्नुभयो ।