
काठमाडौं । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सेवा प्रवाहमा सुधार ल्याउन बुटवलका कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ ।
बुटवल उपमहानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवार्इ कार्यक्रममा उहाँले बुटवलभित्रका सबै कार्यालयबाट प्रदान गरिने सेवामा सुधार ल्याउँदै जनतालाई सहजरुपमा सेवा दिन निर्देशन दिनुभएको छ । उहाँले बुटवल उपमहानगरपालिकाले दिने सेवालाई अझ प्रभावकारी बनाउन नागरिकको पहुँच विस्तार गर्न ‘च्याटबट’ सञ्चालनमा ल्याएको र सहायता कक्षसमेत सञ्चालन गरेको बताउनुभयो ।
प्रमुख पाण्डेले बुटवललाई उत्कृष्ट नगर बनाउन बुटवलवासी र बुटवलका संघसंस्थाको पनि उत्तिकै भूमिका हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सबैले सबैतिरबाट सबैले नगरलाई सफा सुन्दर र हराभरा बनाउन र समृद्ध बनाउनका लागि भूमिका खेल्न जरुरी छ ।” कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई समृद्ध बनाउनका लागि सबै पक्षको साथ र सहयोग जरुरी रहेको बबताउनुभयो । उहाँले बुटवलभित्रका सरकारी कार्यालयको सेवा प्रवाहमा सुधार ल्याउनका लागि सुझाव दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले नगरका सेवासुविधालाई प्रभावकारीरुपमा प्रवाह गर्न तत्पर रहेको भन्दै कुनै गुनासो रहेमा सिधै सुझाव दिन आह्वान गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्