१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


जहाज खरिद गर्नु आवश्यकता हो : मन्त्री किराँती


156
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ ।

बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री किरातीले जहाज खरिद गर्नु आफ्नो निजी स्वार्थको विषय नभएको बताउनुभयो । उहाँले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको उल्लेख गर्नुभयो ।

मन्त्री किरातीले दुर्गम क्षेत्रमा विमानस्थलहरु बनेपनि त्यस क्षेत्रमा उड्ने हवाइजहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि नै प्रश्न उठेको बताउनुभयो । दुर्गम क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकोले निजी क्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित नदेखिएको उहाँको भनाई छ ।

मन्त्री किरातीले नेपाल वायु सेवा निगमले तिनवटा साना जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाएको पनि जानकारी गराउनुभयो । उहाँले कुन प्रक्रियाबाट खरिद गर्ने भन्नेकुरा निगमकै विज्ञ र पदाधिकारीले निर्धारण गर्ने कुरा भएको उल्लेख गर्दै आफूले नेपालको प्रचलित कानून अनुसार पारदर्शी ढंगले जहाज खरिदको प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताउनुभयो ।

मन्त्री किरातीले देशका विभिन्न स्थानमा विमानस्थल निर्माणको माग भएको उल्लेख गर्दै विमानस्थलको संख्या थप्ने भन्दापनि सेवा र गुणस्तर बढाउनेमा जोड दिनुपर्ने बताउनुभयो ।