
काठमाडौं । मंगलबार सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर उडानमा नयाँ नियम ल्याएको छ ।
नयाँ नियम अनुसार अब मनसुन अवधिभर हेलिकप्टरले हिमालमा उडान गर्न पाउने छैनन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बर २०२३ सम्म माउण्टेन उडान,सिलिङ उडान र पुष्पवृष्टि गर्न रोक लगाएको छ ।
प्राधिकरणले हेलिकप्टरको उडान सञ्चालन अनुमति दिँदा प्रस्थान विन्दु वा अवतरण विन्दुमध्ये कम्तीमा एक स्थान विमानस्थल हुनुपर्ने समेत नियम ल्याएको छ । हेलिकप्टरको उडानसम्बन्धी हाल विमानस्थलमा भइरहेको अनुमति दिने काम मनसुन (सेप्टेम्बर २०२३) भर साप्ताहिक रुपमा समीक्षा गरी प्राधिकरणको प्रधान कार्यालयबाटै प्रदान गर्ने निर्णय समेत प्राधिकरणले गरेको छ ।
हेलिकप्टर तथा स्टल विमानस्थलमा हुने दैनिक उडानलाई नियमित सुपरिवेक्षण समेत प्राधिकरणले नै गर्ने भएको छ । यसका लागि एक कमिटिले काम गर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले सेयर सदस्य (लगानीकर्ता)का रुपमा हेलिकप्टर कम्पनीमा संलग्न भएर पाइलटको काम समेत गरिरहेकाहरुलाई व्यावसायिक उडानमा रोक लगाउने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्