६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


पशुमा लम्पिस्किन रोगको संक्रमण घट्दै गएको सरकारी दाबी


208
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले पशुमा लाग्ने लम्पिस्किन रोग क्रमशः घट्ने क्रममा रहेको बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री भुसालले देशभर पशुहरुमा देखापरेको लम्पिस्किन रोग घट्ने क्रममा रहेको बताउनुभएको हो । संक्रमित पशुहरुको मृत्युदर पनि क्रमशः घट्ने क्रममा रहेको उहाँले बताउनु भयो । उहाँले हालसम्म १२ लाख भन्दा बढी मात्रा खोप ल्याइसकिएको र २ लाख ५० हजार ७६६ पशुलाई खोप दिइसकिएको बताउनु भयो ।

मन्त्री भुसालले रोग नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहबाट आवश्यक औषधिको आपूर्ति गर्ने व्यवस्था मिलाइएको स्पष्ट पार्नुभयो । मन्त्रालयमा चालु आर्थिक वर्षमा बचत हुने बजेट रकमान्तर गरी स्थानिय तहमा पठाइएको उहाँको भनाई छ ।
मन्त्री भुसालले लम्पिस्किन रोगबाट हालसम्म ७ लाख ८२ हजार १८४ पशु संक्रमित भएका बताउनु भयो ।

संक्रमित मध्ये २८ हजार १ पशुको मृत्यु भएको र ५ लाख २१ हजार ८१४ निको भएको उहाँले उल्लेख गर्नुभयो । त्यस्तै २ लाख ३२ हजार ३०९ पशु अहिले पनि संक्रमित अवस्थामा रहेका उहाँले जानकारी गराउनु भयो ।