
काठमाडौं । बुधबार २५ अंकको वृृद्धि आएको शेयर बजार बिहीबार दोहोरो अंकले ओरालो लाग्यो ।
उतार चढावबीच बजार परिसूचक नेप्से १२ अंकले ओरालो लागेर २ हजार ८४ कायम भएर थामियो । बैंकहरुले ब्याजदरमा मिलेमतो अन्त्य गर्ने निर्णय गरेसँगै ब्याजदर घट्ने अवस्थामा पनि शेयर बजार ऋणात्मक रहनुलाई लगानीकर्ता नाफा बुकमा लागेको विश्लेषण गरिएको छ ।
अधिकांश समूह रातो रहँदा कारोबार भने सामान्य सुधारिएर साढे ३ अर्ब नजिक पुग्यो । यसदिन वाणिज्य बैंक, होटल तथा पर्यटन र सामूहिक लगानी कोष बाहेक अरु समूह ओरालो लागेका हुन् । वित्त समूहमा सबैभन्दा उच्च २ प्रतिशतको गिरावट आयो ।
बुधबार साढें ४ प्रतिशतको उच्च दरले उकालो लागेको जलविद्युत समूह यसदिन २ प्रतिशत बराबरले ओरालो लाग्यो । बाँकी पनि अधिकांश समूह १ प्रतिशत हाराहारीले ओलिंए । यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय ९६ कम्पनीको करिब ९४ लाख कित्ता शेयर ३ अर्ब ३९ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यसमध्ये १ सय ६५ कम्पनीको मूल्य घट्दा ५२ को बढ्यो ।
घटेको बजारमा पनि एनएमबी र एसबीएलका ऋणपत्र र एनआईबीएल समृद्धि फण्डका लगानीकर्ताले १० प्रतिशत हाराहारीमा कमाए ।
प्रतिक्रिया दिनुहोस्