
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले दलित समुदायका व्यक्तिहरुलाई राज्यको सर्वोच्च निकायमा पुर्याउनुपर्ने बताउनुभयो ।
शुक्रबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद शाहीले दलित समुदायका व्यक्ति देशको प्रधानमन्त्री नभएसम्म जातिय छुवाछुत अन्त्य नहुने धारणा राख्नुभयो ।
जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले तराई, मधेशमा खेतियोग्य जमिनमा सिंचाई नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारले आफ्नो आँखा मधेसमा पनि पुर्याउनुपर्ने बताउनुभयो ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले राष्ट्रपतिले आफ्नो उपचार खर्च आफैँले व्यहोर्ने बताएको भएपनि अर्थ मन्त्रालयसँग उपचार खर्च मागेको भन्दै बिरोध गर्नुभयो । उहाँले ललिता निवास जग्गा प्रकरणमा प्रधानमन्त्री र मन्त्रीहरुलाई पनि कारबाही गर्नुपर्ने बताउनुभयो ।
आम जनता पार्टीका सांसद प्रभु शाहले गएराति रौतहटमा एक युवाको हत्या भएको भन्दै हत्यारालाई कारबाहीको माग गर्नुभयो । उहाँले बालाजु र कालिमाटीको तरकारी बजारको सटर गैरकानूनी रुपमा भाडामा लगाइएको भन्दै यसप्रति कृषिमन्त्रीको जवाफ माग गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकि सांसद रोशन कार्कीले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेकपा(एमाले)का सांसद ठाकुरप्रसाद गैरेले नेकपा(एमाले)ले अवरोध गरेको संसद खोले पनि संसद बैठक चलाउन सरकार पक्ष तयार नभएको बताउनुभयो । उहाँले अवरोध खोलेकै दिनदेखि संसद बैठक किन पछि धकेलेको भन्ने प्रश्न गर्नुभयो ।
उहाँले कर्मचारीलाई आत्महत्या गर्न उक्साउने स्वास्थ्यमन्त्रीको कुरा आपत्तिजनक भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्