
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध नगर्न सरोकारवालाहरुलाई आदेश दिएको छ ।
साथै काठमाडौंबाट फोहोर लिएर जाने गाडीहरुबाट शुल्क पनि नअसुल्न सर्वोच्चले आदेश दिएको छ । सर्वोच्चले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न जाने गाडीहरुबाट शुल्क उठाउने र नदिए अवरोध गर्ने नुवाकोटको ककनी गाउँपालिकाको निर्णयविरुद्ध आदेश दिएको हो ।
ककनीको निर्णयविरुद्ध फोहोरमैला व्यवस्थापन संघले दिएको रिटमा सोमबार न्यायाधीश ईश्वर खतिवडाको इजलासले यस्तो आदेश दिएको हो । ककनी गाउँपालिकाको १२औं सभाले काठमाडौंबाट फोहोर लिएर जाने साना टिपरसँग एक हजार र ठूला टिपरसँग प्रतिगाडी एक हजार पाँच सय रूपैयाँ शुल्क उठाउने निर्णय गरेको थियो ।
उक्त निर्णयविरुद्ध फोहोर मैला ब्यवस्थापन संघले ककनी गाउँपालिका, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, संघीय मामिला, वन तथा वातावरण र सहरी विकास मन्त्रालयलाई विपक्षी बनाइ गत आइतबार रिट दर्ता गरेको थियो ।
यस्तै, सर्वोच्चले फोहोर विसर्जनमा समन्यव गर्न र कुनै पनि अवरोध हुने वातावरण नराख्न सरोकारवाला मन्त्रालयहरुलाई आदेश दिएको छ ।
प्रतिक्रिया दिनुहोस्