७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


पूर्व राष्ट्रपति भण्डारी सहित कलाकर्मी तथा राजनीतिज्ञद्वारा ‘बगान’ को प्रशंसा


195
Shares

काठमाडौं । गत शुक्रबारदेखि देशभर प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘बगान’ले सफलतामा नयाँ सङ्केत दिईरहेको छ ।

मंगलबार देशभर राम्रो अकुपेन्सीसहित चलेको यो चलचित्रले काठमाडौं उपत्यका बाहिरका हलहरूमा पनि व्यापारको नयाँ सम्भावना देखाएको छ । मंगलबारका शोहरूमा दर्शकको उपस्थिती उच्च देखिएको थियो । यसैबीच पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सहित कलाकर्मी, राजनीतिज्ञ, साहित्यकार तथा विश्लेषकहरूले साँझ ‘बगान’ हेरेका छन् ।

अभिनयमा सदावहार लोकप्रिय सरोज खनालको निर्देशनमा एकल आमा र उनले हुर्काएकी छोरीको कथामा बनेको यो चलचित्र हेरेपश्चात पूर्व राष्ट्रपति भण्डारीले चलचित्रको कथावस्तु राम्रो रहेको र समाजमा नयाँ सन्देश दिने प्रतिक्रिया बताउनुभयो ।

बरिष्ठ पत्रकार तथा राजनीतिज्ञ रविन्द्र मिश्रले जुन बिषयवस्तुलाई प्रोत्साहित गर्नुपर्छ सो बिषय ‘बगान’ले उठाएको बताउनुभयो । उहाँले पुरुष महिला दुवैले मुखले अधिकारको कुरा गरेपनि भित्री मनले आफूसँग सम्बन्धित एकल महिलाले विवाह नगरेहुन्थ्यो भन्ने सोच समाजमा अहिले पनि विद्यमान रहेको र यो बिषयलाई शसक्त रूपमा चलचित्रमा प्रस्तुत गरिएको प्रतिक्रिया दिनुभयो ।

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र निर्देशक तुलसी घिमिरेले चलचित्रको बिषय एकदम सुनौलो र समाजको लागि बलियो सन्देश रहेको बताएका छन् ।

मंगलबार बगान हेर्न दर्जनौँको सङ्ख्यामा बिशिष्ट व्यक्तिहरू काठमाडौं सुन्धाराको सिभिल मलस्थित क्युएफएक्स सिनेमा हल पुगेका थिए ।

अभिनयका पारङ्गत अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छ । अभिनेत्री कार्कीले यहि चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

स्वप्निल नीरवको कथामा आधारित यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतीमा बनेको हो । ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् ।

यो चलचित्र नेपाल रिलिजपछि अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन हुनेछ । ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौं उपत्यका र बाहिर एफडी कम्पनीले गरेको छ ।