२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सर्वोच्चमै मुद्दा फछ्र्यौट कमजोर भएपछि नेतृत्व चिन्तित


2.301k
Shares

काठमाडौं । देशभरका तीनै तहका अदालत सर्वोच्च, उच्च र जिल्ला अदालत मध्ये सर्वोच्च अदालत कार्यसम्पादनमा यस पटक पनि पछि पर्‍यो । दरबन्दी अनुसार न्यायाधीश नहुँदा कार्यसम्पादनमा कठिनाई भोगिरहेको सर्वोच्च दरबन्दी अनुसार २१ जना न्यायाधीश सर्वोच्चमा निरन्तर भए २ वर्षभित्र सबै पुराना मुद्दा फछ्र्यौट हुने दाबी छ ।

अघिल्लो आर्थिक वर्षमा पनि कार्यसम्पादनमा सबैभन्दा पछि परेको सर्वोच्च अदालतमा हाल ३१ हजार १ सय ४ मुद्दा विचाराधीन छ । जिम्मेवारी सरि आएको २७ हजार ४ सय ४ र नयाँ दर्ता ९ हजार ७ सय ६५ गरी कुल ३७ हजार १ सय ६९ मध्ये आर्थिक वर्ष २०७८/०७९ मा ७ हजार ६५ मुद्दा मात्र सर्वोच्चले फछ्र्यौट गरेको छ । उच्च अदालतले ६० र जिल्ला अदालतले ५४ प्रतिशत मुद्दा फछ्र्यौट गर्दा सर्वोच्चले १९ प्रतिशत मुद्दा मात्रै फछ्र्यौट गरेको छ, जुन सर्वोच्च अदालतमा विगत करिब २ वर्षदेखि रिक्त न्यायाधीश दरबन्दीमा नियुक्त नहुनु नै हो ।

सर्वोच्चमा हाल ५ न्यायाधीशको पद रिक्त छ । प्रधानन्यायाधीश कार्की पनि केही समयपछि अदालतबाट बिदा हुँदै हुनुहुन्छ । उहाँको बिदा सँगसँगै सर्वोच्च अदालतमा ७ जना न्यायाधीशको पद खाली हुँदैछ भने १४ जना न्यायाधीशले मात्रै मुद्दाको सुनुवाई गर्नेछन् । हाल सर्वोच्चमा विचाराधिन रहेको मुद्दाको संख्या अनुसार एक जना न्यायाधीशले २१ हजार ५० मुद्दा हेर्नुपर्ने हुन्छ । न्यायाधीशको अभावका कारण न्यायालयको पञ्चवर्षीय रणनीतिक योजनाको लक्ष्य समेत पुरा गर्न कठिन भइरहेको सर्वोच्चले पुराना बक्यौता मुद्दा न्युनीकरण गर्न कार्ययोजना नै बनाएर अभियान थाल्यो ।

उक्त कार्ययोजना अनुसार सर्वोच्च अदालतले २०६३ सालदेखि २०६६ सम्मका पुरना बक्यौता मुद्दाहरु फछ्र्यौट गरेको छ । सर्वोच्चमा मुद्दाको चाप बढ्दा न्यायाधीशकौ दरबन्दी नै थप्नुपर्ने विषय पनि बेलाबखत उठ्ने गरेको छ । तर, प्रधानन्यायाधीश कार्की २१ जना न्यायाधीश सर्वोच्च अदालतमा निरन्तर भइरहे कार्यसम्पादनमा समस्या नहुने तर्क गर्नुहुन्छ ।

सर्वोच्चले पुराना मुद्दा फछ्र्यौटको लागि हाल दैनिक ४ वटा छुट्टै ईजलास गठन र शुक्रबार ५ बजेसम्म मुद्दाको सुनुवाई गर्ने गरेको छ । अन्तरिम आदेशको छलफललगायत अन्य पूरक र भैपरी मुद्दाहरुको लागि दैनिक एउटा छुट्टै संयुक्त इजलास गठन, ५० प्रतिशत बढी कैद भुक्तान गरिसकेकाको मुद्दा चाँडै फछ्र्यौटको लागि छुट्टै इजलास गठन गर्ने गरेको छ ।

सर्वोेच्चमा कार्यबोझ कम गर्न कार्यालय समय भन्दा अघि र कार्यालयको समय पश्चात् पनि सर्वोच्चमा न्यायाधीशहरुले काम गर्ने बहस पटक पटक उठ्ने गरेको छ । प्रधानन्यायाधीश कार्की राज्यले सहयोग गरे कार्यालयको समायवधी पछि पनि आफूहरु काम गर्न तयार रहेको बताउनुहुन्छ ।

न्यायालयकै सर्वोच्च निकाय सर्वोच्च अदालत हरेक वर्ष कार्यसम्पादनमा पछि पर्दै आएको छ । मुद्दाको चाप घटाउन सर्वोच्च सँगै रिक्त न्यायाधीश पदपूर्ति गरेर सम्बन्धित निकायले सहयोग गर्न आवश्यक छ ।