
काठमाडौं । दुई वटा छुट्टाछुट्टै कार्यक्रमका लागि नेपाल र युरोपेली युनियन (इयू)बीच साढे १० अर्ब रुपैयाँभन्दा बढीको अनुदान सम्झौता सम्पन्न भएको छ ।
शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच नेपालको शिक्षा र वातावरण क्षेत्रमा खर्च गर्ने गरी उक्त अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
‘सबैका लागि गुणस्तरीय शिक्षा (क्वालिटी एजुकेसन फर अल) कार्यक्रम’ र ‘स्थानीयस्तरमा जलवायु परिवर्तन अनुकूलन (लोकल एडप्सन टु क्लाइमेट चेन्ज) कार्यक्रम’का लागि अनुदान सम्झौता भएको मन्त्रालयले जनाएको छ ।
सबैका लागि गुणस्तरीय शिक्षा कार्यक्रमअन्तर्गत विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनका लागि सात अर्ब ३८ करोडबराबरको अनुदान सम्झौता भएको छ भने लोकल एडप्टेसन फर क्लाइमेट चेन्ज कार्यक्रमका लागि तीन अर्ब २५ करोडबराबरको सम्झौता भएको हो ।
यी दुवै कार्यक्रमका लागि १० अर्ब ५३ करोडबराबरको अनुदान युरोपियन युनियनबाट नेपालले पाउने छ । सरकारी तथा सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बढाउन सबैका लागि गुणस्तरीय शिक्षा कार्यक्रममार्फत यो रकम खर्च गरिने अर्थसचिव अर्जुनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
सबै नेपाली नागरिकको शिक्षामा पहुँच बढाई गुणस्तरीय सिकाइका क्षेत्रमा सहयोग गर्ने नीतिलाई निरन्तरता दिइने युनियनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्