
काठमाडौं । स्थानीयको अवरोधकाबीच शुक्रबार नुवाकोटको बञ्चरे डाँडास्थित ल्याण्डफिल साइटमा १ सय ५० ट्रक काठमाडौं उपत्यकाको फोहोर लगिएको छ ।
ती ट्रकलाई नेपाल प्रहरी र शसस्त्र प्रहरीले सुरक्षा दिएर बञ्चरे डाँडा पुर्याएका हुन् । स्थानीयले फोहोरका कारण दुर्गन्ध फैलिएको, गिद्धले सिनोहरु ल्याएर मानिसको छत र आँगनमा झार्ने गरेका, फोहोरका कारण रोगब्याध लाग्ने गरेको र झिंगा फैलिएर बस्तीमा खाना खान समेत अप्ठेरो परेको गुनासो गर्दै आएका छन् ।
उनीहरुले अव्यस्थित रुपमा फालिएको फोहोर व्यवस्थापन नगरेसम्म र फोहोरबाट अति प्रभावित भएका स्थानीयलाई अर्काे बस्तीमा स्थानान्तरण नगरेसम्म काठमाडौं उपत्यकाको फोहोर ल्याण्डफिल्ड साइटमा जान नदिने अडान राख्दै आएका छन् । शुक्रबार फोहोर बोकेर गएका गाडीलाई पनि स्थानीयले अवरोध गरेका थिए ।
नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेंसी नगरपालिकाका स्थानीयले फोहोरबाट समस्या निम्तिएको भन्दै संयुक्तरुपमा आन्दोलन गर्दे आएका छन् । केही दिन अघि स्थानीय र शहरी बिकास मन्त्रालयबीच भएको छलफल पनि बिना निष्कर्ष टुंगिएको थियो ।
प्रतिक्रिया दिनुहोस्