१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


समाजवादी मोर्चामाथि शेखर कोईरालाको प्रश्न


403
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोईरालाले समाजवादी मोर्चाको सम्बन्धमा प्रश्न उठाउनुभएको छ ।

आइतबारको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै नेता कोईरालाले सत्तारुढ गठबन्धन भित्रैका दलहरुले बनाएको समाजवादी मोर्चा कसको लागि बनेको हो भनि प्रश्न गर्नुभयो । उहाँले गठबन्धन भित्र अर्को गठबन्धन बनेको भन्दै त्यसबारेमा पार्टीभित्र छलफल गर्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।

कोइरालाले नक्कली भूटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय तहमा देशको छवि धुमलिएको भन्दै यस विषयमा सचेत र गम्भीर बन्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले केन्द्रीय समिति बैठकले पारदर्शिता र सुशासनको पक्षमा उभिनसक्ने नैतिक बल दिने विश्वास पनि व्यक्त गर्नुभयो ।

उहाँले संसदबाट दण्डहिनतालाई प्रश्रय दिने कानूनहरु बन्न थालेको भन्दै राज्यका जिम्मेवार निकायहरुकै कारण देशमा पछिल्ला दिनहरुमा दण्डहिनता बढेर गएको उल्लेख गर्नुभयो । कोइरालाले नीतिगत रुपमै कानून बनाएर दण्डहिनतालाई प्रश्रय दिने काम भइराखेको बताउनु भयो । नेता कोईरालाले हाल संसदमा रहेको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनको संशोधन गर्न बनेको विधेयक २०८० तत्काल खारेज गर्नुपर्ने बताउनु भयो ।

नेता कोईरालाले महामन्त्री गगन थापाले प्रस्तुत गरेको संगठनात्मक कार्यतालिकामा प्रदेशलाई छुटाइएको बताउनु भयो । नेपाली कांग्रेस मासबेशी पार्टी भएपनि कार्यतालिका भने क्याडरबेशमा गएको उहाँको टिप्पणी छ । उहाँले आगामी २०८४ सालको निर्वाचन कांग्रेस एक्लैले लड्नुपर्ने बताउनु भयो ।

उहाँले प्रत्यक्ष निर्वाचन प्रणालीभित्रै समानुपातिक, समावेशी सुनिश्चिता गर्नुपर्ने र त्यसको पहल नेपाली कांग्रेसले नै गर्नुपर्नेमा जोड दिनुभयो । नेता कोइरालाले केन्द्रीय समिति बैठक आरोप प्रत्यारोप र कुण्ठा पोख्ने थलोमात्र बनेको टिप्पणी समेत गर्नुभयो ।