२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पर्वतमा पहिरोका कारण ६ घरपरिवार विस्थापित


858
Shares

काठमाडौं । पर्वतको जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट खसेको पहिरोले ६ वटा बस्ती जोखिममा परेका छन् ।

बस्तीभन्दा माथिको पहाडको डिल चिरा परेर जंगलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि ६ घरपरिवार विस्थापित भैसकेका छन् ।

लेदो बग्न थालेपछि खेतीयोग्य जमिनमासमेत क्षति पुगेको छ । पहाड नै चर्किएर झर्न थालेपछि तल रहेका बस्तीका एक सयभन्दा बढी घर जोखिममा परेको जलजला गाउँपालिकाले जनाएकाे छ ।

अविरल वर्षाका कारण कुवापानीको चिहानडाँडाबाट खसेको पहिरो बगेर तलका बस्तीमा आएपछि जोखिम बढ्दै गएको हो । स्थानीय पदमबहादुर कार्की, रेशमबहादुर कार्की, नगेन्द्र कार्की, रजिन मगर, अमिर मगर र डम्मरबहादुर खत्रीका परिवार पहिराका कारण विस्थापित भएका हुन् ।

आकाशबाट पानी पर्नेबित्तिकै लेदोसहितको बाढी आउने गरेका कारण बस्तीमा जोखिम बढ्दै गएको हो । पहिराले जलजला–२ को मूलघडेरी, पूर्णगाउँ, नेपाने, टमिलाखर्क, गौरेटो हुँदै कालीगण्डकी किनारमा रहेको म्याग्दीको गलेश्वरसम्म जोखिम बनाएको छ ।

पहिरो रोकथाम तथा नियन्त्रणका लागि जिल्ला विपद् व्यवस्थापन समितिले समेत स्थलगत अनुगमन गरे पनि ठोस योजना ल्याउन सकेको छैन ।