
काठमाडौं । राजधानीको फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न नसक्दाको विकराल स्थिति अघिल्लो बर्खामै काठमाडौंले भोगेको हो। नुवाकोटको बन्चरेडाँडास्थित डम्पिङसाइटसम्म जान सक्ने बाटो बिग्रँदा त्यतिबेला राजधानी नै ‘डम्पिङ साइट’ बन्न पुग्यो।
महानगरले फोहोर फाल्न साइटसम्मको बाटो त फराकिलो बनायो तर फोहोरको उचित व्यवस्थापन गर्ने सोच फराकिलो बनाउन सकेन। फोहोर फ्याँकेर होइन, पुनप्रयोगबाट मात्र व्यवस्थापन हुन्छ भन्ने मोफसलले अपनाइरहेको सामान्य ‘मन्त्र’ पनि उसले बुझेन।
झारा टार्ने फोहोर व्यवस्थापनले कुनै पनि बेला पोहोरको नियति दोहोरिन सक्छ भन्ने उसले बुझेन। नबुझेर नियति नदोहोरिने होइन। साउनको पहिलो दिनबाटै नियति दोहोरियो। एक वर्षअघि काठमाडौं महानगरपालिका र स्थानीयबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै त्यहाँका स्थानीयले यही साउन १ देखि फोहोर व्यवस्थापनमा अवरोध गरेपछि राजधानी दुर्गन्धमा घेरियो।
प्रहरीको बलसँगै स्थानीयसँगको मौखिक सहमतिले फेरि तत्कालका लागि झारा टार्ने काम भएको छ। काठमाडौं उपत्यकाको फोहोर उठ्न थालेको छ। काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले त्यहाँका स्थानीयसँगको सहमतिपछि फोहोर व्यवस्थापन पुनः सुरु भइसकेको जानकारी दिए। उनका अनुसार रोकिएको फोहोर व्यवस्थापन तीन दिनभित्र पूरा भइसक्ने बताए।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्