१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चिनियाँ नागरिक बस्ने घर र गोदाममा राजस्वको छापा, भेटियो घडी र दाह्री काट्ने मेसिन


7.826k
Shares

गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ

काठमाडौं । गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कटाइसकेको अवस्थामा बराद सुन प्रकरणको जरोसम्म राजस्व अनुसन्धान विभागले आक्रामक रुपमा अनुसन्धान अघि बढाएको छ । यसक्रममा १७ जनालाई नियन्त्रणमा लिएको विभागले सोही प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक जिक्वाङ लिंग बस्ने घरमा छापा मारेको छ ।

लाजिम्पाटस्थित घरमा सुन प्रकरणमा मुछिएका चिनियाँ नागरिक जिक्वाङ एक वर्षदेखि बस्दै आएका थिए । सुन समातिएपछि घर छोडेर भागेका उनी बस्ने ठाउँमा छापा मार्दा छरपस्ट चीजवस्तु भेटिएको छ । अनुसन्धान घरबाट सिसिटीभी र केही सामान बरामद गरेको छ । सिंगै घर लिएका ती चिनियाँ नागरिकको बस्ने घरको तल्लो तलामा एउटा सेफ रहेपनि त्यसमा कुनै सामान थिएन । उनैले लाजिम्पाटकै गल्लीभित्र रहेको एक सटर भाडामा लिई तालबन्दी गरेको अवस्थामा राजस्वको अनुसन्धान टोलीले वडाध्यक्षको रोहबरमा छापा मार्दा सय भन्दा बढी कार्टुनमा राखिएको घडी र दाह्ी काट्ने मेसिन फेला पारेको छ । भाडामा लिई बसेका चिनियाँ नागरिकको गतिविधिका बारेमा आफू बेखबर रहेको घरबेटी सरस्वती डंगोल बताउनुहुन्छ । घर भाडामा लिदाँ नेपाली नागरिकले नै लिएको पछि मात्र चिनियाँ नागरिक आउने जाने गरेको घरबेटी डंगोल बताउनुहुन्छ । त्यस्तै, सटरको आडमा रहेका छिमेकीले भने केही व्यक्तिको आवतजावत गर्ने गरेको सुनिता घले बताउनुहुन्छ । सामान ल्याउने गरेको घले बताउनहुन्छ ।

राजस्व अनुसन्धान टोलीले पक्राउ परेकाहरुको बयानकै आधारमा काठमाडौंका विभिन्न स्थानमा छापा मार्ने काम गरिरहँंदा बयानका क्रममा पक्राउ परेकामध्ये चिनियाँ मूलका भारतीय नागरिकले अनुसन्धान टोलीसँग मुख नखोलेका कारण अनुसन्धान प्रभावित बनेको छ । यद्यपि अनुसन्धानमा खटिएका कर्मचारी भने चामल र भुस छुट्याएरै छोड्ने दाबी दोहोर्‍याउँछन् ।