
काठमाडौं । सत्तारुढ राष्ट्रिय सभाका सांसदहरुले पनि सुन तस्करी नियन्त्रणमा संसद र संसदीय समितिहरुले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यता औंल्याएका छन् ।
सत्तारुढ नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद कृष्णप्रसाद पौडेल, जनता समाजवाद पार्टी, नेपाल सांसद मृगेन्द्रकुमार सिंह यादवलगायतका सांसदहरुले सुन तस्करी, ललिता निवासलगायतका भ्रष्टाचार काण्डहरुको तथ्य पत्तालगाई बाहिर ल्याउन संसद र संसदीय समितिहरुले कडा कदम चाल्नुपर्ने बताउनुभएको हो ।
शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सत्तारुढ काँग्रेस सांसद पौडेलले अन्तर्राष्ट्रिय जगतमा नै नेपालको अपमान हुने गरी चर्चित सुनकाण्ड बाहिर आएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न संसदले प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो । पछिल्लो सुन काण्डले झनै मुलुकको मान, सम्मान घटेर जाने सम्भावना बढेर गएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरोकारवाला सबै पक्षसँग बसेर छलफल गर्न आवश्यता रहेको समेत उहाँले बताउनुभयो ।
सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका सांसद मृगेन्द्रकुमार सिंह यादवले क्वीन्टलका क्वीन्टल सुन तस्करी हुनु मुलुकका लागि लाजमर्दो विषय भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्नका लागि सम्बन्धित पक्षमाथि कडा छानबिन गर्नुपर्ने बताउनुभयो । उहाँले सुन तस्करी, ललिता निवासलगायतको छानबिन गरी दोषीलाई उम्कन नदिने गरी अनुसन्धानको कामलाई अघि बढाउनुपर्ने बताउनुभयो ।
यता, सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले मौद्रिक नीति र वित्तीय नीतिमा तालमेल नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीति वित्तीय नीतिसँग तालमेल नहुनु मुलुकका लागि गम्भिर विषय भएको उल्लेख गर्दै त्यस विषयमा सम्बन्धित पक्षसँग संसद र संसदीय समितिले छलफल गर्नुपर्ने बताउनुभयो ।
सांसद शर्माले विभिन्न आयोजनाहरुमा समेत भ्रष्टाचार मौलाएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्