२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


विश्वकप फुटबल तयारी प्रशिक्षणमा तीन नेपाली खेलाडी थपिए


3.081k
Shares

काठमाडौं । विश्वकप प्रारम्भिक छनोटको तयारीमा रहेको पुरुष फुटबल टिममा तीन नयाँ खेलाडी थपिएका छन् ।

प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले मछिन्द्र र आर्मी टिमका खेलाडी क्लबको प्रतियोगिताको तयारीमा रहेका कारण तीन नयाँ खेलाडी थपेका हुन् । प्रशिक्षक एनेसले फ्रेन्ड्स क्लबका मिडफिल्डर सन्तोष खत्री र कुशल फुयाँल तथा जावलाखेल युथ क्लबका हिसुब थपलियालाई प्रशिक्षणमा सामेल गराएका हुन् ।

उनीहरुसहित टिममा ३३ जना खेलाडी भएका छन् । एन्फाका अनुसार दुई क्लबका खेलाडीहरु क्लबको प्रतियोगिता सकेर पुन राष्ट्रिय टिममा सामेल हुनेछन् । फिफा विश्वकप छनोटको प्रारम्भिक छनोटमा नेपालले लाओससँग खेल्नेछ । होम एण्ड अवेको अवधारणा अनुसार छनोटको पहिलो लेग अक्टोबर १२ मा नेपालमा र १७ अक्टोबरमा लाओसमा खेलिनेछ ।

लाओससँगको खेल जितेमा नेपाल यूएई, बहराइन, यमन वा श्रीलंका सम्मिलित समूह एचमा रहने छ । यो समूहको खेल पनि होम एण्ड अवे प्रणालीमै हुने छ ।