
काठमाडौं । आइतबार अन्तर्राष्ट्रिय मानव बेचबिखन तथा ओसारपसारविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरि मनाइँदै छ ।
यस बर्षको नारा ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौँ’ भन्ने तय गरिएको छ । राष्ट्रसंघका अनुसार विश्वव्यापी संकट, द्वन्द्व र जलवायु परिवर्तनका कारण मानव बेचबिखनको रुप बिकराल बनेको छ । गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुव्र्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन् ।
सन् २०१३ मा राष्ट्र संघको सम्मेलनले हरेक वर्ष ३० जुलाईमा अन्तर्राष्ट्रिय मानव बेचबिखन तथा ओसारपसारविरुद्धको दिवस मनाउने घोषणा गरेको थियो । त्यस यता हरेक वर्ष मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना बढाउने तथा पिडितको अधिकार संरक्षण गर्ने उद्धेश्यका साथ यो दिवस मनाउने गरिन्छ ।
यौन व्यवसाय, मानव अंग बेचबिखन, जोखिमपूर्ण श्रम, लागूपदार्थ ओसारपसार तथा विभिन्नखाले श्रमका लागि विश्वभर मानव बेचविखन बढ्दो छ । नेपालमा सयौं युवा म्यानमार, लाओस, तथा कम्बोडियास्थित चिनिया समुहको आपाराधिक शिविरमा साइबरदासका रुपमा बन्धक बन्न थालेका छन् ।
पछिल्लो पाँच वर्षमा मानव बेचबिखन तथा ओसारप्रसारसम्बन्धी ८ सय बढी मुद्दा प्रहरीमा दर्ता भएका छन् । यद्दपी ४० प्रतिशत अभियुक्त पनि पक्राउ परेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्