
काठमाडौं । इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ ।
ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले आज आइतबार सूचना प्रकाशित गरी भाषा परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको हो । शाखाले पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिने जनाएको छ ।
नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्र अनुसार रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिकलाई लैजान लागिएको सूचनामा उल्लेख छ । यही साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिने र आवेदक १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले हुनुपर्ने जारी सूचनामा उल्लेख छ । आवेदकले अनलाइनबाट मात्र फारम भर्नुपर्नेछ ।
भाषा परीक्षा हुने स्थान र समय भदौ ८ गते शुक्रबार प्रकाशित गरिने सूचनामा उल्लेख छ । भाषा परीक्षामा पास भएकाहरुले दोस्रो चरणमा सीप परीक्षा दिनुपर्ने छ । भाषा परीक्षा, सीप परीक्षण र स्वास्थ्य परीक्षणमा पास भएपछि मात्र रोजगार आवेदन फारम भर्न पाइने छ ।
प्रतिक्रिया दिनुहोस्