३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


नेप्से सामान्य अंकले वृद्धि


208
Shares

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ ।

पछिल्ला ५ दिनदेखि निरन्तर ओरालो लागेको नेप्से सोमबार ५ अंकले बढेर २१०६ बिन्दुमा थामिएको छ ।

सोमबार कारोबारमा आएका उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ ।

सोमबार व्यापार उपसमूहको परिसूचक सर्वाधिक १ दशमलब ९७ प्रतिशत बढेको छ भने वित्त उपसमूहको परिसूचक एक प्रतिशत बढेको छ । कारोबारमा आएको जलविद्युत, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन घटेको छ ।

नेप्से बढेपनि सोमबार कारोबार रकम भने घटेको छ । आइतबार साढे २ अर्ब रुपैयाँको शेयर कारोबार भएको बजारमा आज २६२ कम्पनीको १ अर्ब ८५ करोड ८० लाख रुपैयाँ बराबरको ५५ लाख ३१ हजार कित्ता शेयर खरिद बिक्री भएको छ ।

सोमबार सनराइज ब्लुचिप फण्डको इकाईमूल्य सर्वाधिक ७ दशमलव १० प्रतिशत बढेको छ भने बलेफी हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतले वृद्धि भएको छ ।

कारोबारमा आएको विन नेपाल लघुवित्त, ग्लोबल आइएमई बैंकको ऋणपत्रको शेयर मूल्य ४ प्रतिशतले घटेको छ । कारोबारमा रकमका आधारमा सोमबार शिवम् सिमेन्ट्सको सर्वाधिक कारोबार भएकोछ जसको ८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।