
काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले रासायनिक मल खरिदका लागि पर्याप्त बजेट व्यवस्थापनको विषयमा सम्बन्धित मन्त्रालयले जवाफ दिनुपर्ने बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै समितिको ज्येष्ठ सदस्य सभापतिसमेत रहनुभएका उहाँले यस्तो बताउनुभएको हो ।
सांसद चौधरीले रासायनिक मलको अभाव कम गर्न जैविक मलको वैकल्पिक उपायहरु ल्याउनुपर्ने बताउनुभयो । उहाँले जैविक मललाई रासायनिक मलको वैकल्पिक उपाय बनाउने विषयमा सरकारको भुमिकाको विषयमा समेत स्पष्ट हुनुपर्ने बताउनुभयो ।
सांसद चौधरीले विनियोजित बजेट अनुसार खरिद प्रक्रिया अघि बढे/नबढेको, खरिद भएको मल ढुवानी भए/नभएको र गोदाममा पुगिसेकेको मल वितरणको अवस्थाबारे सन्बन्धित निकायमार्फत जानकारी माग गरिने बताउनुभयो । उहाँले रासायनिक मलमा अहिलेको बजार माग कति हो र त्यो कहाँबाट कसरी पूर्ति गर्ने हो भनेर अर्थ र कृषि मन्त्रालयलाई जवाफ माग गर्ने बताउनुभयो ।
सांसद चौधरीले मल अभाव नहुनेगरी वितरणको ‘रोडम्याप’ पनि मन्त्रालयहरुसँग माग गरिने बताउनुभयो । उहाँले स्थानीय तहले मल वितरण गर्दा किसानलाई समयमा पाउने आधार खडा पारेको प्रणालीको विषयमा समितिलाई जानकारी गराउनु पर्ने बताउनुभयो । उहाँले स्थानीय निकायहरुको मल वितरणमा समस्या भए कसरी सम्बोधन गर्ने विषयमा मन्त्रालयले सोच्नुपर्ने बताउनुभयो ।
सांसद चौधरीले किसानहरुले भन्सार नाकाबाट एक बोरा मल ल्याउन रोक लगाउने विषयले किसानहरुले समस्या भोग्नुपरेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्