
काभ्रे । एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती नागरिक दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्लाको ठेगाना राखेर लिएको नागरिकता वडाको सिफारिस बिना नै बनेको खुलासा भएको छ ।
दावाले काभ्रेबाट वि. सं. २०७४ पुष २० गते निमा तामाङका नाममा वंशजका आधारमा लिएको नागरिकतामा नमोबुद्ध नगरपालिका ११ नम्बर वडा ठेगाना उल्लेख छ ।
एक वर्षअघि सीआईवी निमा तामाङको बारेमा अनुसन्धान गर्न आएको जानकारी दिँदै तत्कालीन वडाअध्यक्ष कृष्णबहादुर लामाले भन्नुभयो– ‘निमाको तीन पुस्ते विवरण र निमालाई पनि खोजबिन गरेको थियो। वडाबाट निमा तामाङलाई नागरिकता बनाउन सिफारिस नै नगरिएकाले विवरण फेला पर्ने कुरा पनि भएन र थिएन पनि ।’
वि.सं.२०७९ साउन १७ गते वडा कार्यालयले नगरपालिकामार्फत् सीआईबीलाई पत्र पठाएको थियो । तत्कालीन वडा अध्यक्ष लामाले निमालाई नागरिकता बनाउन सिफारिस नगरिएकाले सोही व्यहोराको पत्र वडा कार्यालयबाट नगरपालिका हुँदै सीआईवीलाई पठाइएको बताउनुभयो । वडा कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई समेत निमा नमोबुद्ध ११ का नागरिक नभएको जानकारी पठाएको लामाले बताउनुभयो ।
दावाले २०७४ पुस २० गते काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ११ बाट वंशजको नागरिकता निकालेका थिए । जिल्ला प्रशासन कार्यालय काभ्रेले दावाको वंशजको नागरिकता जारी भएको पुष्टि गरेको छ ।
नागरिकता लिएको एक महिनामै उनले २०७४ माघ ११ गते नेपाली राहदानी निकालेका थिए । नेपाली नागरिकता र राहदानीमा उनको जन्म मिति २०४१ वैशाख १५ गते उल्लेख छ । अहिले उनी नेपाली र बेल्जियम दुवै मुलुकको राहदानी प्रयोग गर्छन् ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्