
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने अडान कायमै राखेपछि मंगलबार १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर साउन २२ गते सोमबार बस्नेगरी स्थगित गरिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणबारे सरकारको तर्फबाट यथार्थ जवाफ आउनु पर्ने र त्यसमा उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने एमालेको माग छ । गत हप्ताको बुधबार यी मागहरु राखेर एमालेले प्रतिनिधि सभाको बैठक अबरुद्ध गरेको थियो भने हिजो सोमबारको बैठक पनि सूचना टाँस गरेर स्थगित गरिएको थियो ।
आज मंगलबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे सहित राजनीतिक दलका प्रमुख सचेतक लगायतका नेताहरुबीत संसद अवरोध हटाउने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएको थियो । तर एमालेले आफ्नो अडान कायमै राखेपछि सहमति जुट्न सकेन ।
साउन ३ गते राजश्व अनुसन्धान बिभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा झण्डै सय किलो तस्करीको सुन समातेको थियो । यो प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेपनि सुन कसले ल्याएको हो भन्ने मुख्य ब्यक्ति भने पक्राउ परेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्