१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इलाममा चियाका पुरानाबोट हटाएर नयाँ राेप्दै


1.716k
Shares

इलाम । इलाम सदरमुकामको चियाबगानमा पुनः चियाको बिरुवा रोप्न थालिएको छ ।

इलाम नगरपालिकाको पहलमा पुराना बिरुवा मासिँदै जान थालेपछि नयाँ बिरुवा रोप्न थालिएको हो ।

झण्डै १ सय ६० वर्ष पहिले प्रथम राणा प्रधानमन्त्री जंगबहादुरका ज्वाँइ गजराज सिंह थापाले इलाममा चियाको बिरुवा रोपेको बताइएको छ । इलाम सदरमुकाममा चिया रोपणको लामो समयपछि चियाका बोट मरेर खाली भएको जमिनले चियाबारीको सौन्दर्य समेतलाई असर परिरहेको थियो ।

चियाका बोट बुडो हुदै मर्न थालेपछि पुरानै जातका बिरुवा खोजेर रोप्न थालिएको हो । इलाम नगरपालिकाले सहरको सौन्दर्य र आर्थिक उपार्जनका लागि भन्दै चिया रोपण सुरु गरेको हो । नेपाल चिया विकास निगमले लिजमा दिएको कम्पनीले खाली भएको जमिनहरुमा पुरानै जातको चियाको १० हजार बिरुवा रोपिने छ । इलाम नगरपालिकाका प्रमुख केदार थापाले खण्डहर बन्दै गएको बगानलाई पहिलेकै अवस्थामा फर्काउने उद्देश्यले चिया रोप्न थालिएको बताउनुभयो ।

नगरपालिका क्षेत्रमा चिया बगान मासिदै र पुराना हुँदै गएपछि नयाँ बिरुवा रोप्न थालिएको हो । चियाका लागि इलामले ख्याति कमाएका कारण पनि यसको खेती बिस्तार गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।