
काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पीडित र पीडितको साक्षिको संरक्षण गर्न नसक्दा फौजदारी मुद्दाका पीडितहरुलाई न्याय दिन नसकिएको बताउनुभएको छ ।
मंगलबार इन्सेकले ३१ औं प्रकाश स्मृति दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश कार्कीले पीडित र साक्षिहरुको संरक्षण गर्न नसक्दा उनीहरुलाई फौजदारी मुद्दामा न्याय दिन नसकिएको बताउनुभएको हो । उहाँले पीडित र पीडितका साक्षिको संरक्षणको विषय संविधानमा नै उल्लेख भएको भएपनि उनीहरुको संरक्षण सार्थक रुपमा हुन नसकेको बताउनुभयो ।
पीडितको संरक्षण गर्न नसक्दा प्रतिकुल वकपत्र आउने गरेकोले न्याय दिन कठिनाइ भएको प्रधानन्यायाधीश कार्कीले बताउनुभयो । उहाँले आर्थिक, सामाजिक र शैक्षिक रुपमा पिछडिएको कारणले पनि प्रतिकुल वकपत्र दिनुपर्ने अवस्थामा पीडितहरु पुगेका बताउनुभयो ।
प्रधानन्यायाधीश कार्कीले सार्वजनिक सरोकारका विषयहरु अदालतमा लैजाने संविधानको व्यवस्था अनुरुप सो विषयहरु अदालतमा पुगिरहे पनि त्यसको दुरुपयोग हुन थालेको बताउनुभयो । उहाँले व्यक्तिगत तथा राजनीतिक स्वार्थ र सस्तो लोकप्रियताका लागि यस प्रकारका विवादहरु अदालतसम्म पु¥याउने गरिएको बताउनुभयो ।
प्रधानन्यायाधीश कार्कीले न्यायालय स्वतन्त्र, सक्षम, निष्पक्ष र उत्तरदायी नभए मानव अधिकारको संरक्षण हुन नसक्ने बताउनुभयो । उहाँले न्यायालय स्वतन्त्र र निष्पक्ष हुन सकेन भने न्याय प्रदान गर्न पनि नसक्ने बताउनुभयो । उहाँले न्यायालय हरेक दृष्टिबाट स्वतन्त्र र दवावबाट मुक्त हुनुपर्ने बताउनुभयो । न्यायालय राजनीतिक हस्तक्षेप र आर्थिक प्रलोभनबाट पनि मुक्त हुनुपर्ने उहाँको भनाई छ ।
प्रधानन्यायाधीश कार्कीले न्यायालयले कागजमा लेखिएको कुरा भन्दा अरु हेर्न नसक्ने पनि बताउनुभयो । पीडितलाई न्याय दिनु अनुसन्धानकर्ता, अभियोजनकर्ता र समाजका सबैको कर्तव्य भएको भन्दै उहाँले देखेको सत्य र यथार्थ कुरा बोल्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्