
काठमाडौं । सांसदहरुले काठमाडौं उपत्यकाका मुख्य सडकहरुमानै ढल बग्ने समस्याको व्यवस्थापन हुनुपर्ने बताएका छन् ।
मंगलवार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसदहरुले काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा ढल व्यवस्थापनको चुनौति रहेको बताएका हुन् । उनीहरुले मुख्य सडकमा नै खोला र ढलहरु जोडिएको साना बालबालिकाहरु बगाउने समस्या सिर्जना भइरहेको बताए ।
साउन ७ गते काठमाडौंको रानीवनस्थित सामाखुशी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका विधान आलेमगर बेपत्ता भएको घटनालाई लिएर सांसदहरुले फेरि यस्ता घटना हुन नदिन सचेत गराए ।
बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले भारी वर्षा हुने बित्तिकै काठमाडौंका सडकहरुमा जाम हुने, अस्तव्यस्त हुने र सडकमा नै खोला बग्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो ।
समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले काठमाडौंका सडक छेउमा बहने नदीहरुमा तत्काल ढल गाढेर सुरक्षित गर्नुपर्ने बताउनु भयो । उहाँले काठमाडौंका यस्ता समस्याहरुको दीर्घकालीन व्यवस्थापनका बारेमा सोच्न जरुरी रहेको बताउनु भयो ।
त्यसैगरी बैठकमा जनता समाजवादी पार्टी, नेपालकी सांसद सुशीला श्रेष्ठले पानी पर्नु भन्दाअघि एक पटक ढलको मंगालहरु सफा गर्नुपर्ने अभियान चलाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सडक निर्माणमा दीर्घकालीन योजना बन्न नसकेको बताउनु भयो ।
समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद ऐनबहादुर शाही ठकुरीले सामाखुशीको बाढीमा परी बेपत्ता भएका बालकको खोजी कार्य तिब्र बनाउनुपर्ने बताउनु भयो । उहाँले आगामी दिनमा यस किसिमका घटना हुन नदिन विपद्पूर्व तयारी गर्नुपर्ने बताउनु भयो ।
सांसद ठकुरीले काठमाडौंको ढल व्यवस्थापनमा विशेष जोड दिनुपर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्