
रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा गौर हत्याकाण्डका पीडितहरु धर्नामा बस्दै आएका छन् ।
१७ वर्ष अघि भएको गौर हत्याकाण्डका पीडितहरु दोषीलाई कारबाहीको माग राख्दै धर्नामा बसेका हुन् ।
गएको शनिबारदेखि निरन्तर धर्नामा बस्दै आएपनि माग सम्बोधनमा सरकारले चासो नदेखाएको पीडितहरुको गुनासो छ । गौर हत्याकाण्ड पीडितहरुले संघर्ष समिति गठन गर्दै आन्दोलनमा उत्रिएका छन् ।
२०६३ साल चैत्र ७ गते तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीनिकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाले गौर नगरपालिका–५ स्थित राइस मिल्सको चौरमा एकैस्थानमा सभा आयोजना गरेपछि भिडन्तमा परिणत भएको थियो । सो भिडन्तमा २७ जना माओवादी कार्यकर्ताले ज्यान गुमाएका थिए ।
जसमा ५ महिला र २२ पुरुष थिए । त्यस्तै ५३ जना भन्दा बढि घाइते भएका थिए । झडपमा रौतहटका ९, मकवानपुरका ८, बाराका ४, बाजुरा, सिन्धुली, पर्सा र दाङका एक/एक गरी २७ वाईसीएल कार्यकर्ताको मृत्यु भएको थियो । मृतकका परिवारले ९ महिनापछि राज्यबाट १० लाखका दरले क्षतिपूर्ति पाएका थिए ।
तर,अझैसम्म न्याय नपाएको भन्दै गौर हत्याकाण्डका पीडितहरु आन्दोलित भएका छन् । हाल जसपा अध्यक्ष रहेका उपेन्द्र यादवसहितका नेताविरुद्ध रौतहट प्रहरीमा कर्तव्य ज्यान मुद्दा दर्ता छ ।
प्रतिक्रिया दिनुहोस्