१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


असोजभित्र सिंहदबारको प्रवलिकरण सक्न मन्त्री गुरुङको निर्देशन


195
Shares

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पश्चिम खण्डको प्रवलिकरणको काम आगामी असोजभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पश्चिमीखण्डको प्रवलिकरणको कामको स्थलगत निरीक्षण गर्दै उहाँले आगामी तीन महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।

मन्त्री गुरुङ प्रवलिकरणमार्फत ऐतिहासिक सिंहदरवारलाई पुरानै संरचनामा निर्माण गर्नु सकारात्मक काम भएको बताउनुभयो । उहाँले बाँकी कामलाई छिटो भन्दा छिटो सम्पन्न गर्न निर्देशन दिदै केही समस्या भए समाधान गर्न आफू तयार रहेको बताउनुभयो ।

मन्त्री गुरुङले भुकम्पले क्षति पुगेका घर तथा भवनलाई पनि प्रवलीकरण विधि मार्फत बलियो बनाउन सकिन्छ भन्ने सन्देश दिएको बताउनुभयो । देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलाई प्रवलीकरण गरेर सञ्चालनमा ल्याउदा आम नागकिरहरुलाई पनि प्रवलीकरणप्रति विश्वास बढाउने मन्त्री गुरुङले विश्वास व्यक्त गर्नुभयो ।

निर्माण सुरु भएको सिंहदरबारको पश्चिम खण्डको काम हालसम्म ९२ प्रतिशत सम्पन्न भएको छ । करिब ५० करोड लगानीमा पश्चिम खण्डको प्रवलिकरणको काम भइरहेको छ । प्रवलिकरणको जटिल मानिएको काम सम्पन्न भएर हाल रंगरोगन र फिनिसिङको काम धमाधम भइरहेको छ । २०७२ सालमा गएको विनाशकारी भुकुम्पबाट क्षति पुगेको देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको प्रवलीकरण (रेक्ट्रोफिटिङ) विधिबाट पुनर्निमाणको काम अघि बढाइएको थियो । सिंहदरबारलाई भत्काएर नयाँ बनाउने कि प्रवलीकरण गर्ने भन्ने लामो बहसपछि अन्ततः तत्कालिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विनाशकारी भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक दरबारहरुको प्रवलिकरण मार्फत पुरानै शैलीमा निर्माण गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय महत्वको रुपमा रहेका ऐतिहासिक भवनहरुको मौलिकता बचाउदै पुरानै निर्माण सामाग्री प्रयोग गरेर प्रवलिकरणमार्फत पुरानै स्वरुपमा निर्माण गर्ने काम भइरहेको केन्द्रीय आयोजना कार्यान्वय इकाईका आयोजना निर्देशक कोषनाथ अधिकारीले बताउनुभयो । उहाँका अनुसार वैज्ञानिक विधिको प्रयोग गरि जीर्ण घर तथा भवनलाई सुरक्षित बनाउने विधिलाई ’रेट्रोफिटिङ’ अथवा ’प्रबलीकरण’ भनिन्छ । भुकम्पले क्षति पु¥याएका ऐतिहासिक भवनहरुलाई सरकारले थप मजुबद्ध बनाउने गरी आधुनिक र उच्च तहको प्रविधिको प्रयोग गरी प्रवलीकरण गरेको हो ।

प्रवलीकरण मार्फत सिंहदरवार ऐतिहासिक भवनभित्र रहेका वास्तुकला, सौन्दर्य र मौलिकता पुरानै अवस्थामा निर्माण गरिएको छ । नेपालमा राणाकालीन भवनहरको विशिष्ट वास्तुशैली र पुरातात्कि महत्वका सम्पदालाई संरक्षण गर्ने कार्य अनुरुप सरकारले सिंहदरवारको प्रवलिकरण गरेको हो ।

निर्माण सम्पन्न उत्तर दक्षिण र पुर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीहरु सिमेन्ट, बालुवा, छड, ‘बोण्डिङ केमिकल’ को प्रयोग गरी पुरानै स्वरुप नबिग्रिने गरी प्रवलीकरण गरिएको छ । पश्चिमी खण्डको भने भवनको डिजाइन, आर्किटेक्चर, मौलिक स्वरूपमा केही पनि परिवर्तन नगरी पुरानै शैलीमा चुना र सुर्कीको प्रयोग गरेर गरिएको छ । भवनमा काठ फलामको पाता, सुर्की चुना लगायतका निर्माण सामाग्रीको प्रयोग गरेर प्रवलीकरण गरिएको केन्द्रीय आयोजना कार्यान्वइन इकाई भवनका आयोजना उपनिर्देशक झप्पर सिंह विश्वकर्मा बताउनुहुन्छ ।

उहाँका अनुसार भवनलाई भुकम्प प्रतिरोधी बनाउनका लागि भुइँतलाबाटै फलामको पाता प्रयोग गरेर चारैतिरबाट मजबुद्ध रुपमा कसेर निर्माण गरिएको छ ।

न्यू टेक्निकलले अहिले पश्चिमी खण्डको प्रवलिकरणको काम गरिरहेको छ । २०७६ असोज २७ बाट प्रवलिकरणको काम सुरु भएको थियो । १९६० सालमा तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शमशेरले युरोपियन शैलीमा सिंहदरवारको निर्माण गरेका थिए । २०३० सालमा आगलागी हुँदा दरवारको पश्चिमी मोहडाबाहेक उत्तर पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो ।

आगलागीबाट नष्ट भएका तीन वटा खण्डको २०३७ सालमा पुरानै शैलीमा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामाग्रीहरु प्रयोग गरी संरचनालाई भुकम्पीय जोखिम धान्न सक्ने गरी पुननिर्माण गरिएको छ । हाल सरकारले पश्चिम खण्डलाई पनि पुरानै शैलीमा पुननिर्माण गरिएको हो ।