२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


राष्ट्रिय स्क्वास प्रतियोगिता हुँदै


78
Shares

काठमाडौं । ५औं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता साउनको अन्तिम साता हुने भएको छ ।

नेपाल स्क्वास र्‍याकेट संघको आयोजनामा आगामी साउन २१ देखि २७ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो ।

उक्त प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित आयोजक नेपाल स्क्वास र्‍याकेट संघको भवनमा हुने छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिता इभेन्ट म्यानेजमेण्ट ललितपुर र प्याट्रियस इन्टरनेसनल प्रालिसँगको सहकार्यमा हुने आयोजकले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी)बाट मान्यता प्राप्त यो प्रतियोगिताको मुख्य प्रायोजन धनलक्ष्मी फाउण्डेसनले गरेको छ । संघका निःवर्तमान अध्यक्ष किशोर महर्जनकी स्वर्गीय आमा धनलक्ष्मीको सम्झनामा प्रतियोगिता हुन लागेको हो ।

यस प्रतियोगिताको लागि प्रायोजकबाट दुई लाख रुपैयाँ नगद पुरस्कारको व्यवस्था हुने र यो रकम नेपाली स्क्वासको घरेलु प्रतियोगितामा अहिलेसम्मकै सर्वाधिक रहेको आयोजकको भनाइ छ ।

प्रतियोगितामा देशभरबाट एक सयभन्दा बढी खेलाडीले प्रतिष्पर्धा गर्ने छन् । १५ जना अफिसियल यस प्रतियोगितामा सहभागी हुने आयोजकको भनाइ छ ।

प्रतियोगितामा खुला महिला/पुरुष, पुरुष यु–१९, मास्टर खुला र सेट च्याम्पियनसिप गरी पाँच विधा समावेश गरिएको छ ।