७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


श्रमजीवि पत्रकारको श्रम अधिकार सुनिश्चितको माग गर्दै सूचना विभागमा धर्ना


195
Shares

काठमाडौं । श्रमजीवि पत्रकारको श्रम अधिकार सुनिश्चितताको माग गर्दै सूचना तथा प्रशारण विभागमा धर्ना दिइएको छ ।

शुक्रबार नेपाल पत्रकार महासंघका प्रतिनिधिसहित श्रमजीवि पत्रकारहरुले श्रम अधिकारको सुनिश्चितताको माग गर्दै विभागका महानिर्देशकलाई ज्ञापन पत्र समेत बुझाएका हुन् ।

महासंघको तर्फबाट बुझाइएको ज्ञापन पत्र ग्रहण गर्दै सूचना तथा प्रशारण विभागका महानिर्देशक शंकर नेपालले विभागमा आएका उजुरीहरुलाई कार्यविधिले तोकेअनुसार फछ्र्यौट गर्दै आएको बताउनुभयो । उहाँले प्रेस रजिस्टारको भुमिका तोकिएजति निर्वाह गरेको पनि दाबी गर्नुभयो । उहाँले श्रमजीवि पत्रकारको हक हीतको बारेमा छलफल अघि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सहजै गरिएका आग्रह राज्यका निकायले नसुन्ने प्रवृत्ति देखिएकाले सडकमा आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाँले त्रकारिता क्षेत्र श्रम शोषण गर्ने क्षेत्र हो की भन्ने भाष्य सिर्जना गरिएको भन्दै पत्रकारिता क्षेत्रको गुणस्तरियता, व्यसायिक विकासमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले श्रमजीवि पत्रकारिता ऐनले परिकल्पना गरेको जस्तो भुमिका विभागबाट हुन नसकेको बताउनुभयो ।

प्रदर्शनकारीहरुले प्रेस रजिस्टारले समेत श्रमजीवि पत्रकारको हकहीतमा काम नगरेको बताए । उनीहरुले पत्रकारको श्रम अधिकारको सम्मान गर, अविलम्व प्रेस रजिस्टार नियुक्त गर लगायतका प्लेकार्ड र नारा लगाइ प्रदर्शन गरेका हुन् ।