१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उद्योगीहरुले उखुको भुक्तानी अझै नदिएको किसानको गुनासो


156
Shares

सर्लाही । उखु किसानले सरकारबाट पाउनुपर्ने अनुदान र उद्योगीहरुबाट लिनुपर्ने रकम पाउन सकेका छैनन् ।

सर्लाहीलगायत विभिन्न जिल्लाका किसाले उद्योगी र सरकार दुवै पक्षले आफूहरुलाई भुक्तानी नदिएको बताउँदै आएका छन् ।

गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम अझै नपाउँदा उखु किसान निराश बनेका हुन् । गत पुस/माघमा बेचेको उखुको अनुदान रकम हालसम्म पनि हात नपरेको किसानहरुको गुनासो छ ।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले अनुदान रकम उपलब्ध गराइदिन अर्थ मन्त्रालयसहित अन्य निकायमा बारम्बार ताकेता गरेपनि सुनुवाई नभएको बताउनुभयो । उखु खेती घट्दै गएको अवस्थामा सरकारले अनुदान बढाएर किसानलाई प्रोत्साहन गर्नुपर्नेमा महिनौंसम्म अनुदान रकम नदिएर किसानलाई निराश बनाएको महासंघको आरोप छ ।

सर्लाहीमा केही दिनअघि बसेको सर्वदलीय बैठकले उखु किसानलाई तत्काल अनुदान रकम दिन संघीय सरकारसँग माग गरेको थियो । सर्लाहीमा अन्नपूर्ण चिनी उद्योग र महालक्ष्मी चिनी उद्योगमा उखु बेचेका किसानले अझै भुक्तानी पाउन सकेका छैनन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख निर्मल न्यौपानेले उखुको अनुदान रकम कार्यालयलाई प्राप्त नभएकाले भुक्तानी दिन नसकेको जानकारी दिनुभयो ।