२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दाङको कोसेली घरबाट उपमहानगरले ४ वर्षसम्म भाडा पाएन


338
Shares

दाङ । दाङको तुलसीपुर बसपार्कस्थित कोसेली घरले चार वर्षसम्म पनि भाडा पाएको छैन ।

उपमहानगरपालिकाले महिला कृषि लघु उद्यमी समूहलाई त्यसको जिम्मा दिएको थियो । २०७६ मंसिरमा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नका लागि कोसेली घर सञ्चालनमा ल्याइएको थियो । उपमहानगरपालिकालाई फाइदाको ५ प्रतिशतका दरले प्रतिमहिना भाडा उपलब्ध गराउने सहमति भएको थियो ।

तर, सहमति अनुसार सहकारीले भाडा उपलब्ध नगराएपछि महालेखा परीक्षणको कार्यालयले समेत प्रश्न उठाएको थियो । यस विषयमा अध्ययन गर्नका लागि छुट्टै समिति बनाई्एको छ । कार्यपालिकाको १३औं बैठकले आर्थिक विकास समिति संयोजक माधव वलीको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको हो । कार्यदलले दिएको सुझाव अनुरूप कार्यपालिकाले निर्णय गर्ने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताउनुभयो ।

कोसेली घरले उपमहानगरपालिकाको साझेदारी कोषबाट लिएको ऋणको सावा ब्याज कुनै पनि बुझाएको छैन । स्थानीय उत्पादन भन्दा बाह्य वस्तुहरू राखेर बेच्ने गरिएको गुनासो बढ्दै गएको छ । उपमहानगरपालिकामा पछिल्लो समय दायित्व तिर्नुपर्ने रकम धेरै छ ।

तर, आन्तरिक आम्दानी भित्र्याउनतर्फ कुनै चासो दिएको छैन ।