
काठमाडौं । कान्ति बाल अस्पतालमा शैय्याको अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन् ।
बालबालीकाहरुको रेफरल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालमा मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार हुँदै आएको छ । यस्तै, बालबालिकाहरुको इन्डोस्कोपी सेवा, मुटु रोगको ओपिडी सेवा सञ्चालन हुने गरेको छ ।
अहिले रुघाखोकी, निमोनिया, ज्वरो र केही मात्रामा झाडापखालाका बिरामीहरुको चाप छ । अस्पतालका निर्देशक डा.युवानिधि बसौलाले पर्याप्त शैय्या नहुँदा उपचारमा अफ्ठ्यारो भएको जानकारी दिनुभयो । उहाँले एउटा बेडमा दुईदेखि जना तीन जनासम्मलाई उपचार गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
अस्पतालमा ३ सय ३० शैय्या छ । अस्पतालमा पर्याप्त शैय्या नहुँदा एउटा बेडमा खप्टेर बस्नुपर्ने स्थिति रहेको डा.बसौलाले बताउनुभयो । उहाँले नर्सिङ जनशक्तिको पनि अभाव रहेको जानकारी दिनुभयो । गत आर्थिक वर्षमा २ लाख बालबालीकाले उपचार सेवा लिएको जानकारी दिँदै अहिले दैनिक झन्डै ९ सय जना उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो ।
डा.बसौलाले अस्पतालमा १ जना नर्सले ६ देखि ८ जना बिरामीलाई सेवा पुर्याउनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले कहिलेकाहिँ दुई जना नर्सले पूरै वार्ड हेर्नुपर्ने अवस्था आउने गरेको भन्दै कम्तीमा पनि ५ सय जनाको हाराहारीमा नर्सिङ जनशक्ती चाहिने बताउनुभयो । हाल अस्पतालमा २ सय जना नर्स कार्यरत छन् ।
अस्पतालले मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार, इन्डोस्कोपी, मुटु रोगको ओपिडी सञ्चालन गर्दै आएको छ । अस्पतालमा दैनिक २० देखि ३० वटा अप्रेसन हुने गरेको छ । कान्ति बालमा ५२ शैय्याको आइसीयु सञ्चालनमा छ ।
एक हजार शैय्याको अस्पताल निर्माण गर्ने गरि डिपिआर पूरा भएको जानकारी दिँदै डा.बसौलाले ९ अर्ब ३० करोडको लागतमा ५ वटा भबन बनाउने योजना रहेको बताउनुभयो । उहाँले इमरजेन्सी बाहेक अप्रेसनका लागि ६ महिनादेखि एक वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
कान्ति बाल अस्पतालले निकट भविष्यमा एमआरआई सेवा सञ्चालन गर्ने योजना बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्