
काठमाडौं । मन्त्रालयको संख्या बढाएर भएपनि लुम्बिनी प्रदेश सरकारले मन्त्रीपरिषद्लाई पूर्णता दिने तयारी गरेको छ ।
साउन महिनाभित्र नेपाली कांग्रेसका तीन र नेकपा माओवादी केन्द्रका दुई गरी पाँच जना मन्त्री थप्ने तयारी भइरहेकाे छ ।
यो भागबन्डा अनुसार लुम्बिनीमा मन्त्रीको संख्या १२ पुग्नेछ । अहिले लुम्बिनी प्रदेशमा सात जना मन्त्री रहेका छन् । १२ सदस्यीय मन्त्रीपरिषद् बनाउँदा अहिले कायम दुई मन्त्रालयलाई फुटाएर कांग्रेसलाई तीन र माओवादीलाई थप दुई मन्त्रालयको जिम्मेवारी दिनेगरी भागबन्डा मिलाइएको हो ।
मन्त्री नियुक्त हुन बाँकी खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय हाल मुख्यमन्त्री डिल्ली चौधरीले सम्हाल्दै आउनुभएको छ । दुई वटा मन्त्रालयहरु उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय र सहरी विकास मन्त्रालयबाट दुईवटा नयाँ मन्त्रालय बनाइने बताइएको छ ।
लुम्बिनी प्रदेशमा अहिले नेपाली कांग्रेस, माओवादी, लोसपा, जसपाले मन्त्री पाएका छन् भने सरकारलाई समर्थन गरेका नेकपा (एकीकृत समाजवादी) र जनमोर्चाले मन्त्रालय लिएका छैनन् । उनीहरुलाई संसदीय समितिमा जिम्मेवारी दिने गठबनधनको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्