१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


सुन प्रकरणको थप अनुसन्धानको जिम्मा राजस्वले प्रहरीलाई दियो


702
Shares

काठमाडौं । राजस्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धानको फाइल नेपाल प्रहरीलाई दिएको छ ।

आइतबार पत्रकार सम्मेलन गरेर राजस्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणमा भेटिएका प्रमाण, तथ्य र हिरासतमा रहेका १७ जना समेत नेपाल प्रहरीलाई बुझाएको हो ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्दा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय अपराधको रुपमा स्थापित हुने र राजस्व अनुसन्धान गर्दै जाँदा योसँग अन्य कानूनहरु पनि आकर्षित हुने अवस्था देखिएको बताउनुभयो ।

महानिर्देशक ढुंगानाले संगठित रुपमा सुनको व्यापार गर्ने देखिएका र नेपालको कानून अनुसार यो प्रकरणमा संगठित अपराध सम्बन्धी कानून आकर्षित हुने भएकाले नेपाल सरकार महान्यायाधिवक्ता, नेपाल प्रहरी र राजश्व अनुसन्धानले प्रहरीलाई सामेल गराउने निर्णय गरेको बताउनुभयो । उहाँले नेपाल प्रहरीलाई पनि सुन तस्करी प्रकरणको अनुसन्धानमा सामेल गराउँदा बढी यर्थाथपरक र अझ टुङ्गोमा पुग्न सजिलो हुने देखिएको बताउनुभयो ।

महानिर्देशक ढुंगानाले पक्राउ परेका सबै आरोपित, तथ्य प्रमाणहरु समेतलाई प्रहरीको जिम्मा लगाएको बताउनुभयो । महानिर्देशक ढुंगानाले २ साउनमा विभागले एक सय किलो सुन विमानस्थल भन्सारको मुल गेटमा बरामद गरी ३ गते परिक्षण भएर सुन प्रमाणित भएपछि अनुसन्धान गरी विभिन्न तथ्यहरु भेटाएको बताउनुभयो ।

महानिर्देशक ढुंगानाले हङकङबाट नेपालमा भित्र्याइएको सो सुन प्रकरणमा हालसम्म १४ जना नेपाली, २ जना चिनियाँ र एक भारतीय सहित १८ जना पक्राउ परिसकेको एक जनालाई हाजिरी जवानीमा छाडिएको बताउनुभयो । उहाँले अनुसन्धानमा भेटिएका विभिन्न तथ्यहरु अनुसन्धानकै क्रममा रहेको बताउनुभयो ।

महानिर्देशक ढुंगानाले सुन तस्करीका विभिन्न ठाउँमा रहेका अखडाहरु छापा र शिलबन्दी गरेको बताउनुभयो । उहाँले अनुसन्धान गर्दै जाँदा केही गहन रुपमा पेचिलो बन्दै गएको उल्लेख गर्नुभयो ।

महानिर्देशक ढुंगानाले संगठित अपराध अन्तरगत यसलाई अनुसन्धान गर्ने, राजस्व अनुसन्धान सम्बन्धि केसको वेसमा संगठित अपराध आकर्षित हुने र यसका सम्पूर्ण अनुसन्धान र कार्यसम्पादन नेपाल प्रहरीबाट हुने गरी बाँकी कार्य सम्पन्न गर्नको निम्ति नेपाल प्रहरीलाई सम्पूर्ण तथ्य समेत बुझाएको बताउनुभयो । उहाँले नेपाल प्रहरीले उक्त प्रकरणलाई महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास रहेको बताउनुभयो ।