६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सदनको अवरोध हटाउने विषयमा सभामुखले शीर्ष नेतासँग छलफल गर्ने


130
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन् ।

सोमबार संसद् बैठक बस्नअघि शीर्ष दलका नेतासँग छलफल गर्ने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जानकारी दिएको छ ।

सभामुख घिमिरेले आइतबार सदनको अवरोध हटाउने विषयमा सचेतकहरूसँग छलफल गर्नुभएको थियो । तर, छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आआफ्नो अडान कायम राखेपछि उनले सोमबार अपराह्न १२ बजे शीर्ष दलका नेतासँग सदन अवरोधको निकास खोज्न बैठक तय गरेका हुन् ।

आइतबारको बैठकमा सत्तापक्षका सचेतकहरूले प्रधानमन्त्री पुष्पकमल दाहालको निर्णयअनुसार नै भ्रष्टाचारको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको आवश्यकता नभएको बताएको थियो । उनीहरूले सरकारी निकाय नै पर्याप्त भएको अडान लिएका थिए । यता, प्रतिपक्षका सांसदले अहिलेको सरकारी संयन्त्रले छानबिनको काम गर्न नसक्ने र ठूला दलका नेतालाई अनुसन्धानको दायरामा ल्याउन नसक्ने बताउनुभयो ।

सभामुखको कार्यकक्षमा भएको छलफलमा नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, नेकपा (एमाले)का सांसद लीलानाथ श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, जनता समाजवादी नेपालका प्रमुख सचेतक प्रदीप यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाही सहभागी थियो । नेकपा (माओवादी केन्द्र)का प्रतिनिधि सहभागी थिएनन् ।

नेकपा (एमाले) सचेतक महेशकुमार बर्तौलाले सदनको अवरोध हटाउन सभामुखले शीर्ष नेताको तहमा पहल गर्नुपर्ने बताउनुभयो । उहाँले सत्तापक्षले संवादबाट निकास खोज्न तयार नरहेको बताउनुभयो ।

रास्वपाका प्रमुख सचेतक परियारले आजको बैठकमा शीर्ष दलका नेताहरूबाटै यस विषयलाई टुङ्गोमा पुर्याउन सभामुखलाई सुझाव दिएको बताउनुभयो ।

सत्तापक्ष र प्रतिपक्षको बीचमा सदन अवरोध गर्न नहुने धारणा राख्दै आएको रास्वपाले उच्चस्तरीय छानबिन समिति गठन गर्नमा सरकार लचक हुनुपर्ने बताउँदै आएको छ ।

प्रतिपक्ष एमालेका सांसदले यही साउन १० गतेदेखि संसद् बैठक सञ्चालनमा अवरोध गर्दै आएको छ । सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक तय गरिएको छ ।